खानेपानीको समस्याले खलंगाबासी मर्कामा

खानेपानीको समस्याले खलंगाबासी मर्कामा

रुकुमपश्चिम –   जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट खलंगा बजार र आसापासका टोलहरुमा खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाममा पानीका मुहान सुक्नुका साथै मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाबाट वितरित खानेपानीको पाइपलाइनमा अवरोध भएपछि खलंगा बजार, सल्ले, चन्दननाथ टोल र सालघारी टोलमा दुई सातादेखि खानेपानी आपूर्तिमा समस्या भएको हो ।

मुसिकोट नगरपालिका–१ खलंगाका गोकर्ण खड्काले खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्तिमा वेवास्ता गरेको बताउनुभयो । खानेपानी नहुँदा घरमा बस्ने विद्यार्थी, कर्मचारी र व्यापारीहरु समेतलाई टटेला र शहिदमैदानका मुहानसम्म पानी लिन पुग्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।

खानेपानीकै अभावले जिल्ला कारागारका कैदीबन्दीहरु पनि मर्कामा परेका छन् । उनीहरुलाई पिउने पानी, शौचालय प्रयोग र सरसफाईका लागि समस्या भएपछि छिमेकीका घरबाट सहयोग मागेर समस्या टार्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बुडुवालले जानकारी दिनुभयो । कारागारमा खानेपानी उपभोक्ता समितिको पानीमा समस्या आउने भएपछि सिधै मुहानबाट समेत खानेपानी लाईन लिएकोमा सो पानी समेत मुहान सुक्न थालेपछि थप समस्या भएको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्ला अस्पताल सल्लेमा पनि खानेपानी समस्याले अस्पताल व्यवस्थापनमा समस्या भएको अस्पतालका डाक्टर भिमकान्त लामिछानेले जानकारी दिनुभयो । दैनिक अस्पताल आउने विरामीका साथै कर्मचारीहरुलाई समेत शौचालय प्रयोग र पिउने पानीमा समस्या भएको उहाँले बताउनुभयो ।

गर्मीयाम बढेसंगै मुहान पनि सुक्ने र जिल्ला हुलाक नजिकैको पाईपलाईनमा समस्या आएपछि खानेपानी आपूर्तिमा समस्या भएको मुसिकोट खलंगा खानेपानी उपभोक्ता संस्थाका महासचिव महेन्द्र गौतमले जानकारी दिनुभयो । हुलाक कार्यालय नजिकै घर निर्माण गर्ने व्यक्तिहरुले माटो फालेपछि पाईपलाइन बिग्रिएको र बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । अन्य क्षेत्रमा पनि सडक र भवन निर्माण गर्नेहरुले जथाभावी माटो र निर्माण सामाग्री राख्दा बेलाबेला समस्या हुने गरेको गौतमको भनाइ छ ।-इन्सेक अनलाइन

प्रतिक्रिया