सल्यानमा तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना
सल्यान- सल्यानमा तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन् । २०७५ मा बनेको कार्यविधिमा स्थानीय तहले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन गर्न सक्ने व्यवस्था अनुसार स्थानीय तहले गाउँ प्रहरी भर्ना गरेका हुन ।
आफ्नै सुरक्षा संयन्त्र परिचालन गरेपछि गाउँको सुरक्षादेखि दैनिक कार्यसम्पादन समेत प्रभावकारी बनेको पालिकाको भनाई छ । तीन जिल्लाको सिमानासँग जोडिएको सल्यानको कपुरकोट गाउँपालिकाले प्रहरी सहायक निरीक्षकको कमान्डमा एक महिलासहित चार जना गाउँ प्रहरी जवान भर्ना गरेको छ ।
आफ्नै सुरक्षा संयन्त्र भएपछि पालिकाको सुरक्षा, न्यायिक समितिमा समन्वय, बजार क्षेत्रमा सरसफाइ र सवारीसाधन निगरानीदेखि राजस्व सङ्कलनमा समेत सहयोग पुगेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले बताउनभयो । उहाँका अनुसार ‘न्यायिक समितिमा सहयोग पु¥याउने कामदेखि लिएर पालिकालाई सुरक्षा दिने काम र राजस्व सङ्कलनका लागि सहयोग गर्ने काम पनि भएको छ ।
सल्यानकै त्रिवेणी गाउँपालिका र शारदा नगरपालिकाले पनि नगर प्रहरी सञ्चालन गरेका छन् । पालिका स्तरमा गठन गरिएको प्रहरी संयन्त्रले शान्ति सुरक्षासँगै सेवाग्राहीको कामलाई समेत सहयोग गर्ने गरेको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले बताउनु भयो ।
शान्ति सुरक्षा लगायतका कामहरूमा उनीहरू संलग्न रहेको बवालको भनाइ छ । उहाँले भन्नु भयो ‘नगरपालिकामा आउने सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाहका लागि र राजस्व सङ्कलनका लागि टेवा पुग्ने गरी नगर प्रहरीहरूले काम गरिरहेका छन् ।’
जिल्ला प्रहरी कार्यालय सल्यानले गाउँ प्रहरीलाई विपद्मा कसरी उद्धार गर्ने, भिड कसरी नियन्त्रण गर्ने लगायत प्रशिक्षण तथा आधारभूत तालिम प्रदान गरेको छ । तालिमपछि गाउँ तथा नगर प्रहरीले शान्ति सुरक्षासँगै बजार व्यवस्थापन, फोहोर व्यवस्थापन, प्राकृतिक विपत्तिमा उद्धार तथा नियन्त्रण लगायत काम गरिरहेको कपुरकोट गाउँपालिकाका प्रहरी सहायक निरीक्षक डिल्ली वलीले बताउनुभयो । उहाँले भन्नुभयो विशेष गरी हामीलाई गाउँपालिकाभित्र हुने विपत्सम्बन्धी घटनामा सहयोग गर्नका लागि जिम्मेवारी तोकिएको छ ।’
प्रतिक्रिया