सल्यानको शारदामा पढाइ मेला हुने

सल्यानको शारदामा पढाइ मेला हुने

सल्यान –  सल्यानको शारदा नगरपालिकाले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाको विकास गर्न पढाइ मेला सञ्चालन गर्ने भएको छ ।

बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामाग्रीको पहुँच बढाउँदै पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ जेठ १५ गते खलङ्गा लुहापिङ पढाइ मेला सञ्चालन गर्ने भएको हो ।

शारदा नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीको पठनपाठन सीप क्षमतालाई वृद्धि गर्न पढाइ मेला गर्न थालिएको जानकारी दिएको हो । प्राथमिक तहका बालबालिकामा साक्षरता सिप विकास गरी पढ्ने सीप तथा पढ्ने बाली बसाल्न मेलाको आयोजना गरिएको मेयर प्रकाश भण्डारीले बताउनुभयो ।

अभिभावकको विद्यालय प्रति चासो बढाउन, बालबालिकाहरूमा पढाइप्रति रुचि बढाउन मेला प्रभावकारी बन्ने विश्वास लिएको उहाँको भनाई छ । रुम टु रिडको समन्वयमा सञ्चालन हुने मेलामा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, लेखक, सञ्चारकर्मी, तथा अन्य सरकोरवाला गरी करिब १ हजार बढीको सहभागिता रहने अपेक्षा राखिएको मेयर भण्डारीको भनाई छ ।

पढाइ मेलामा २० भन्दा बढी विद्यालयबाट विकास गरिएका बाल केन्द्रित , नवीनतम र आकर्षक पठन सामाग्री, बाल खेल सहितका २० स्टल रहने शिक्षा शाखा प्रमुख सङ्गीता बुढाले बताउनु भयो । यस्तै मेलामा बाल पुस्तकालय, पढाइ मापन, डिजिटल पुस्तकालय, सबै छोडी बढौँ, हिँडाई पढाई, चौतारामा बसेर पढाई लगायतका पढाइ क्रियाकलाप सञ्चालन गरिने उहाँको भनाई छ ।

यस्तै कक्षा पुस्तकालय र स्वतन्त्र पठन, लेखक तथा स्रष्टासँग बालबालिका, कथा वाचन, नाचगान तथा सांस्कृतिक कार्यक्रम र स्वास्थ्य डेस्क राखिने उहाँको भनाई छ ।

प्रतिक्रिया