‘रुकुमको’ प्रशोधित शुद्ध पिउने पानी बजारमा

‘रुकुमको’ प्रशोधित शुद्ध पिउने पानी बजारमा

रुकुमपश्चिम –  कर्णाली वेभरेज प्रालिले ‘रुकुमको’ नामक प्रशोधित शुद्ध पिउने पानी बजारमा ल्याएको छ । आठबीसकोट नगरपालिका वडा नम्बर १२ डाब खेत झिनचौरमा रहेको कर्णाली वेभरेजले हिजो मगंलबारबाट प्रशोधन गरेको शुद्ध पानी बजारमा पठाउन थालेको हो । नगरपालिको वडा नम्बर १० झारमारे लेकको मुहानबाट पानी ल्याएर प्रशोधन गरेर शुद्ध पिउने पानी ‘रुकुमको’ नामबाट बजारमा पठाउन थालेको कर्णाली वेभरेज प्रालीका अध्यक्ष दलबहादुर शाहले बताउनुभयो ।

उहाँका अनुसार पहिलो दिन स्थानीय बजार राडिज्युला र जाजरकोट जिल्लाको नलगााड नगरपालिकाको दल्ली र कालीमाटी बजारमा बिक्रि गरिएको हो । सुरुमा स्थानीय बजारमा पठाएपनि विस्तारै ‘रुकुमको’ ब्राण्ड रिम्ना, सल्लीबजार, दाङ, सुर्खेत, नेपालगञ्जसम्म पठाउने योजना रहेको अध्यक्ष शाहले बताउनुभयो । ८ घण्टामा १५ हजार लिटर पानी प्रशोधन गर्ने क्षमता छ । तर अहिले कम्पनीले दैनिक १० हजार लिटर पानी प्रशोधन गरिरहेको छ ।

पानी प्याकिङ गर्दा लाग्ने सामग्री पिफोम, मेक्सिल, विर्को, लेबल लगायतका सामान नेपालगञ्नबाट आइरहेको र बोतल भने वेभरेजमै निर्माण हुने गरेको छ । पानी प्रशोधनका लागि अहिले प्रत्यक्ष रुपमा २० जना स्थानीयले रोजगारी पाएको अध्यक्ष शाहीले बताउनुभयो ।

२०७५ सालमा स्थापना भएको वेभरेजले यस अघि नै फलफूलबाट वाईन बनाएर बिक्रि गर्दै आएको छ । यो वर्षबाट भने पानी प्रशोधन गरेर बजारमा पठाउन थालेको हो । पानी प्रशोधन गरेर विक्री गर्ने अनुमति २०७९ सालमा लिएको र एक वर्षमा सफल भएको अध्यक्ष शाहको भनाई छ । पानी बजारमा पठाउनका लागि वेभरेजको आफ्नै गाडी रहेको छ ।

हालसम्म पानी प्रशोधनका लागि २ करोड भन्दा बढी रकम खर्च भइसकेको वेभरेजले जनाएको छ । पानी प्रशोधन गर्ने मेसिन खरिद गर्दा १ करोड, भवन निर्माण गर्दा ५० लाख र अन्य खर्च तर्फ ३० लाख गरेर २ करोड भन्दा बढी रकम खर्च भएको अध्यक्ष शाहको भनाई छ ।

वेभरेजलाई तत्कालका लागि कोल्ड स्टोरको टहरा आवश्यक रहेको उहाँले बताउनुभयो । वेभरेजले किसानले उत्पादन गरेका फलफूल एकमुस्ट रुपमा खरिद गर्दै आएको छ । कोल्ड स्टोरको व्यवस्था भएमा किसानले उत्पादन गरेका सुन्तला, किबी लगायत अन्य फलफूल भण्डारण गर्न सहज हुने प्रालिले जनाएको छ ।

प्रतिक्रिया