चालक नहुँँदा थन्किए एम्बुलेन्स

चालक नहुँँदा थन्किए एम्बुलेन्स

 

सल्यान-   सल्यानको छत्रेश्वरी गाउँपालिकामा सञ्चालित एम्बुलेन्स थन्किएका छन् । विरामीको सहजताका लागि भन्दै केही बर्ष पहिले सञ्चालन गरिएका एम्बुलेन्स हाल आएर थन्किएका हुन् । गाउँपालिकाभित्र पर्ने प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरा र स्वास्थ्य चौकी छायाक्षेत्रको एम्बुलेन्स थन्किएका छन् । एम्बुलेन्स बिग्रेर नभई चालक नपाएर थन्किएको ती स्वास्थ्य संस्थाहरुको भनाइ छ ।

केही महिनाअघिसम्म नियमित सञ्चालन भइरहेको भए पनि हाल आएर चालक नहुँदा दुबै एम्बुलेन्स थन्किएका छन् । यस्तै स्वास्थ्य चौकी झिम्पेको एम्बुलेन्स भाडामा सञ्चालन गरिएको छ । दमाचौर स्वास्थ्य चौकी भने एम्बुलेन्सविहीन छ । २०७६ मंसिरमा विरामी नेपालगन्ज छोडेर फर्किदैँ गर्दा बाँकेमा एम्बुलेन्स दुर्घटना भएको थियो । दुर्घटनामा एम्बुलेन्स चालकसहित दुईजनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परेको एम्बुलेन्स मर्मत गर्ने सम्भावना नहुनु तथा नयाँ एम्बुलेन्स खरिदमा चासो नदिदा झण्डै चार वर्षयता दमाचौर एम्बुलेन्सविहीन बनेको हो । कहीं एम्बुलेन्स नहुनु तथा कतै भएका एम्बुलेन्स पनि प्रयोगमा नआउँदा विरामी तथा विरामीका आफन्तले सास्ती पाउँदै आएका छन् । अहिले निजी गाडी रिजर्व गरेर अस्पतालसम्म जानुपर्ने बाध्यता छ ।

स्वास्थ्य चौकी छायाक्षेत्रका इञ्चार्ज गणेश चन्दले एम्बुलेन्सको मर्मत गरेर सञ्चालन गरे पनि चालक नहुँदा त्यसै थन्किएको बताउनुभयो । ‘दुर्घटनामा परेको एम्बुलेन्स मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएका हौं, फागुनसम्म सञ्चालन गरेका थियौं तर एम्बुलेन्सबाट आएको आम्दानीले चालकलाई तलव खुवाउन नै सकिएन’– उहाँले भन्नुभयो– ‘चालक नहुँदा अहिले एम्बुलेन्स थन्किएको छ, अब भाडामा दिने कि भन्ने सोच बनाएका छौं ।’

प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका इञ्चार्ज वीरबहादुर वलीले चालक नहुँदँ झण्डै २ महिनादेखि एम्बुलेन्स थन्किएको बताउनुभयो ।

‘हामीले एम्बुलेन्स सञ्चालनका लागि चालक भर्ना गर्न जिज्ञापन खोलेका थियौं तर कोही आउनु भएन’– उहाँले भन्नुभयो– ‘हामीले धेरै तलव दिनसक्ने अवस्था भएन, थोरै तलवमा कोही आउन नै मान्नुहुन्न ।’ उहाँले एम्बुलेन्स सही कन्डिसनमा भए पनि चालक नहुँदा विरामी तथा विरामीका आफन्तले सास्ती पाउँदै आएको बताउनुभयो ।

स्वास्थ्य चौकी दमाचौरका इन्चार्ज संगीता खत्रीले एम्बुलेन्स नहँुदा साविक दमाचौर गाविसका नागरिकले सास्ती पाएको बताउनुभयो । ‘यहाँ भएको एम्बुलेन्स दुर्घटना भएपछि नयाँ खरिदका लागि पहल गरेका थियौं, तर हाम्रो पहलले सार्थकता पाउन सकेन’– उहँँले भन्नुभयो– ‘झण्डै चार वर्ष भयो, एम्बुलेन्स छैन ।’ उहाँले एम्बुलेन्स सेवा नहुँदा गम्भीर प्रकृतिका, असक्त, गर्भवती, बृद्वा तथा घाइते बिरामीहरूलाई तत्काल अस्पताल वा स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भइरहेको बताउनुभयो ।

स्थानीय सरकारले एम्बुलेन्सको नियमित सञ्चालनमा चासो नदिदा असक्त, बिरामी तथा दुर्घटनामा परेका व्यक्तिलाई समयमै अस्पताल पु¥याउन नसकिदा ज्यान जोखिममा पर्ने गरेको स्थानीय बताउँछन् । लेखपोखराका स्थानीय लालबहादुर विकले स्वास्थ्य संस्थामा एम्बुलेन्स भए पनि सञ्चालन नहुँदा गर्भवतीलाई सुत्केरी बनाउन स्टेचरमा नै बोक्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

वडामै भएको एम्बुलेन्स सञ्चालन नहुँदा बिरामीहरु समयमै थप उपचार सेवा पाउनबाट बञ्चित भएका छन् । अहिले जिल्ला अस्पताल वा जिल्लाबाहिर उपचारका लागि जानुपर्दा निजी क्षेत्रका गाडीमा लानुपर्ने बाध्यता छ । ‘भनेको समयमा एम्बुलेन्स पाइँदैनन्, निजी क्षेत्रका स्कार्पिओ, बलेरो रिजर्व गर्नुपर्ने बाध्यता छ, तर फोन नलाग्ने, भनेको समयमा गाडी नआउने, महंगों भाडा तिर्नुपर्ने बाध्यता छ’– उहाँले भन्नुभयो ।

छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले नागरिकलाई छिटो, छरितो स्वास्थ्य संस्थामा आएर सेवा लिन सहजता होस् भनेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले चालक नहुँदा थन्किएका एम्बुलेन्सहरु नियमितरुपमा सञ्चालनका लागि आफूले पहल गर्ने बताउनुभयो । -सल्यानटुडे

प्रतिक्रिया