कर्णालीका २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी

कर्णालीका २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी

सुर्खेत –   कर्णाली प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्बजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अन्तरगत कर्णाली प्रदेश स्तरिय नतिजामा कर्णालीमा अझैपनि २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेको पाइएको हो ।

सार्वजनिक तथ्याङ्कमा प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । ति मध्य २४ प्रतिशत अर्थात ४ लाख ५ हजार २ सय १९ जना अहिलेपनि पढलेख गर्न नसक्ने रहेको देखिन्छ ।

प्रदेशमा साक्षरता दर ७६.१ प्रतिशत पुगेको छ । जस अन्तरगत पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर  ६९.४ प्रतिशत रहेको पाइएको छ ।

जनगणनाको तथ्याङ्कमा विद्यालयमा टिकाउ दर पनि कमजोर रहेको देखिएको छ । कुल साक्षरता दरको सबैभन्दा बढी ३०।९ प्रतिशत व्यक्तीले कक्षा ५ सम्म मात्रै पढेका छन भने २१.५ प्रतिशत व्यक्तीले ८ कक्षासम्म मात्रै पास गरेको देखिएको छ । विद्यालय तह पास गर्ने जम्मा ८ प्रतिशत मात्रै रहेको तथ्याङ्कमा उल्लेख छ ।

नतिजा सार्बजनिक गर्दै तथ्याङ्क अधिकृत नन्दलाल साप्कोटाले कर्णाली प्रदेशमा कुल जनसंख्याको ३.१ प्रतिशत अर्थात ५२ हजार ३ सय ४१ जना व्यक्तीहरु कुनै न कुनै अपाङ्गता रहेको बताउनुभयो ।

सार्बजनिक गरिएको तथ्याङ्कमा ९ लाख २६ हजार ३ सय ४० जना काम गर्न सक्ने उमेर समुहका व्यक्तीहरु छन् । जसअन्तरगत ७३.७ प्रतिशत जनसंख्या कृषि पेशामा आश्रीत रहेको पाइएको छ । थोक तथा खुद्रा व्यापारमा ७.९ प्रतिशत, निर्माण कार्यमा ५.९ प्रतिशत, शिक्षामा २.६ प्रतिशत र सार्बजनिक प्रशासन तथा सुरक्षाको क्षेत्रमा २.३ प्रतिशत जनसंख्या संलग्न रहेको तथ्याङ्क अधिकृत साप्कोटाले सार्बजनिक गरेको तथ्याङ्कमा जनाइएको छ ।

त्यस्तै ४२.५ प्रतिशत ६ महिना मात्रै काम गर्छन भने २६.७ प्रतिशतले ६ महिनाभन्दा कम काम गर्ने गरेका छन । त्यसैगरी ३०.८ प्रतिशत नागरिकहरुले कुनै पनि आर्थिक क्रियाकलापका काम नगर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

जनगणनाअनुसार प्रदेशका ६२ हजार ७ सय २८ घरपरिवारबाट ९४ हजार ३ सय २० जना अर्थात १७.१ प्रतिशत नागरिक विदेशमा रहेका छन । जसमध्य पुरुष ७७ हजार २ सय ७८ छन भने १७ हजार ४२ जना रहेको छ । २०६८ को जनगणनामा १५.९ प्रतिशत जनसंख्या विदेशमा बस्ने गरेका थिए ।

२०६८ मा १५ लाख ७० हजार ४ सय १८ रहेको कुन जनसंख्या १० बर्षको अवधीमा ०।७० प्रतिशतले वृद्धि भएको छ भने दैलेख र सल्यानको जनसंख्या ऋणात्मक देखिएको छ ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क पोख्रेलले जनगणना गर्दा केही त्रुटीहरु हुन पुगेको भन्दै त्यस्ता त्रुटी हटाउँदै जानुपर्ने बताउनुभयो । उहाँले समग्र योजना जनगणनाबाट आउने तथ्याङ्कबाट निर्माण हुने भन्दै आगामी १० बर्षपछि हुने जनगणनामा कमी कमजोरीहरु हटाउँदै जानुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद साप्कोटा, राष्ट्रिय तथ्याङ्क अधिकारी हेमराज रेग्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया