देउवाप्रति गगनको आक्रोश : अहिलेसम्म सहेँ, अब सहन्नँ

देउवाप्रति गगनको आक्रोश : अहिलेसम्म सहेँ, अब सहन्नँ

काठमाडौँ –   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पार्टी हित विपरीतका निर्णय अब सहेर नबस्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा भएको नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय विषयमा कांग्रेस सभापति एक्लैले गरेको भन्दै अब त्यस्ता निर्णयमा सहेर नबस्ने बताउनुभएको हो । उहाँले कांग्रेसको यस्तै निर्णयले भोट पाए पनि विश्वास गुमाएको बताउनुभयो । ‘कांग्रेसलाई बदल्ने हो । कांग्रेसलाई नबदलीकन जस्ताको तस्तै राखेर विश्वास फर्किँदैन’, उहाँले भन्नुभयो कांग्रेस बदल्न नेता कार्यकर्ता बदलिनुपर्ने पनि बताउनुभयो ।

थापाले भन्नुभयो, ‘कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको निर्णयहरू गर्यो । आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको हो ।’ उहाँले ती निर्णयहरू गर्नुअघि सभापतिले पार्टीमा कुनै छलफल नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

‘मैले त पछि थाहा पाएको हो । यो परिपाटी एक डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले सहँदै आएँ’, महामन्त्री थापाले भन्नुभयो, ‘किनभने सभापति हो, बहुमत उहाँसँग छ भनेर सहेँ । नसहनुपर्ने कुरा सहेकाले अव म सहन्न भन्ने कुरा मैले बदल्ने हो ।’ उहाँले पार्टी नेतृत्वको यो निर्णय प्रक्रियाको तरिकाले पार्टीलाई अहित गरिरहेको भन्दै अव नसहने बताउनुभयो । ‘जुन कुराले पार्टीको अहित गर्छ । त्यस्ता निर्णयहरूको भारी पार्टीका तमामले कार्यकर्ताले बोक्नुपरेको छ’, उहाँले भन्नुभयो, ‘अब लडेर जुधेर रोक्ने हो । एकपछि गलत निर्णय गर्दै जाने हो भने यो पार्टी यसरी थिचिन्छ कि यो भारी बोक्न अव सकिँदैन । उठाउन पनि सकिँदैन ।’

प्रतिक्रिया