लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय

लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय

बागलुङ –   परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेको छ । बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण गर्न लागेका हुन् ।

केही वर्षअघिसम्म यहाँ पञ्चेबाजा निकै लोकप्रिय थियो । परियार समुदायका पुराना व्यक्ति घटदै जाने र नयाँ पुस्ताले सीप नसिक्दा बाजा लोप हुने अवस्थामा पुगेकाले मगर समुदायले बाजा संरक्षणमा ध्यान दिएको हो ।

साविकको गदातुम्डाँडा गाविसभित्रका हरेक सार्वजनिक कार्यक्रमदेखि विवाह र विभिन्न धार्मिक कार्यमा पनि यहाँका बाजा लोकप्रिय थिए । बडिगाड गाउँपालिका–१ दगातुम्डाँडामा पञ्चेबाजाका लागि अन्य पञ्चेबाजा समूहजस्तै लोकबहादुर दर्जीको समूह पनि सक्रिय थियो । पञ्चेबाजाका नाइके लोकबहादुरको दुई वर्ष अगाडि मृत्यु भएपछि उक्त समूह नै निष्कृयजस्तै भएको छ ।

बाजा समूहका प्रमुख नै नभएपछि उक्त समूह नै गुमनामजस्तै भयो । युवा वैदेशिक रोजगारीमा गएका र वृद्धले बजा बजाउन नसक्ने भएपछि गाउँमा बाजा बजाउन जान्ने खासै कोही भएनन् ।

दलित र जनजाति समुदायको बसोबास रहेको बडिगाड–१ मा फेरि अहिले पञ्चेबाजा पहिलेजस्तै घन्किन थालेको छ । बडिगाड–१ तुम्डाँडाका यमबहादुर भुजेल मगरको नेतृत्वमा रहेको पञ्चेबाजा समूहले अहिले पञ्चेबाजा बजाउने गरेको छ ।

नैमती मगर बाजा समूह गठन गरेर उनीहरुले २०७९ असोज १ गतेदेखि बाजा बजाउन सुरु गरेका हुन् । समूहबाट सङ्कलित सहयोग रकमबाट रु दुई लाखको लागतमा बाजाको सेट खरिद गरेर बाजा बजाउन सुरु गरिएको नेतृत्वकर्ता मगरले बताउनुभयो । बाजा बजाउन त जानेको हैन किनौं, सिकौँ र बजाउ भनेर ऋण गरेर भए पनि रु दुई लाखमा बाजा किनियो अझै रु ३० हजार जति क्रण बाँकी छ, उहाँले भन्नुभयो, अझै पनि सिक्ने क्रममै चलिरहेको छ । बाजा बजाउन पनि हिँडिन्छ । रकम जम्मा गर्न कोष पनि खडा गरेका छौँ ।

तुम्डाँडाको पञ्चेबाजको अर्को राम्रो पक्ष भनेको समूहमा ३५ देखि ५५ वर्ष उमेरका युवा छन् । उनीहरु विदेशमा दुःख गरेर नेपालमै केही गर्ने उद्देश्यले आएकाहरू भएकाले सो समूहले निरन्तरता दिन सक्ने स्थानीयवासीको भनाइ थियो । अहिलेसम्म आफूहरूले ज्याला तोकेर हिँड्ने नगरेको तर बोलाएका ठाउँमा रू आठरदश हजारमा नघटाई पाउने गरेको यमबहादुरले बताए ।

म आफैँ पनि २०५३ सालमा २७ वर्षको उमेरमा कतार गएको थिएँ । तीन महिनामा मेडिकल फेल भएपछि नेपाल आएर पनि धेरै काम गरे । अहिले पनि म २०६६ सालमा स्थापित हर्वल साबुन उद्योगको मालिक हुँ तर कला संस्कृतिको संरक्षण गर्ने हेतुले बाजा समूहमा पनि आबद्ध छुु, उनले भने।

विशेषगरी बाजा समूहमा स्थानीयस्तरमै ज्यालामजदुरी गर्ने युवा भएकाले समूहलाई बाजा बजाउने सदस्य नपुग्ने समस्या छैन । बरु बाजा बजाएर आएको रकमबाट सामाजिक कामसमेत समूहले गर्ने गरेको छ ।

बाजा समूहका सदस्य तोरन मगरका अनुसार समूहका सदस्यले बाजा बजाउन जाँदा आउने रकम सबै कोषमा राख्ने र अलि कति मात्रै बाढ्ने गरेका छन् । अन्य रकम बाजा किन्दाको ऋण तिर्न र सामाजिक कामको लागि कोषमा राख्ने गरिएको छ ।
प्रायः तोरनजस्तै अन्य सदस्य ज्याला मजदुरीमै रमाउँछन् ।

प्रतिक्रिया