अवरुद्ध संसद् खुलाउन सत्तापक्ष सचेतकहरुसँग छलफल गर्दै सभामुख

अवरुद्ध संसद् खुलाउन सत्तापक्ष सचेतकहरुसँग छलफल गर्दै सभामुख

काठमाडौँ –   विपक्षी दलबाट अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्न सभामुख देवराज घिमिरेले पहल थाल्नुभएको छ।

बिहान ११ बजे बसेको बैठक नियमित कार्यसूची प्रवेश गर्न नपाई विपक्षी दलबाट अवरुद्ध भएपछि सभामुख घिमिरेले सत्तापक्ष दलका प्रमुख सचेतकसँग अनौपचारिक छलफल थाल्नुभएको हो।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष ३ दलले राष्ट्रपतिबाट निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्णपाठ नआउँदै कैदीलाई आम माफी दिएको विषयमा विरोध जनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले वैधानिक प्रक्रियाबाट नागरिकता विधेयक पास गर्ने कामअघि बढाउन माग गर्दै संसदमा प्रधानमन्त्रीको जवाफ माग समेत गरेका थिए । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक रद्द गर्नुपर्ने र भारत भ्रमणका बेला भएका सम्झौताका बारेमा प्रधानमन्त्रीले संसदमा प्रष्ट नपारी सदन सञ्चालन गर्न नदिने राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बताउनुभयो ।

३ दलले बैठक अवरुद्ध गरेपछि १ घण्टाका लागि बैठक स्थगित गरेका सभामुखले प्रधानमन्त्री प्रचण्डलाई संसदमा उपस्थित गराउने विषयमा सत्तापक्षका प्रमुख सचेतकसँग अनौपचारिक छलफल गरिरहेका हुन् ।

प्रतिक्रिया