रुकुमको मुसिकोटमा नदी र खोलाको अवैध दोहन

रुकुमको मुसिकोटमा नदी र खोलाको अवैध दोहन

काठमाडौँ –  रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नदी र खोलाको अवैध दोहन भइरहेको छ । नगरपालिका क्षेत्रभित्र पर्ने सानीभेरी नदी र विभिन्न खोलामा ढुंगा, गिट्टी र बालुवाको चोरी निकासी बढेको हो । नगरपालिकाबाट अनुमति नै नलिने र अनुमति लिएपनि सम्झौता भन्दा बढी खोला तथा नदीजन्य पदार्थ निकाल्ने गरेको फेला परेको छ ।

मुसिकोट नगरपालिकाको आन्तरिक खरिद अध्यन अनुगमन समितिले यस्तो फेला पारेको हो । सानीभेरी नदी, मुग्लुखोला, साँखखोला, ट्वाखोलाका विभिन्न ठाउँमा अनुगमन गरिएको थियो । जसक्रममा अवैध रुपमा खोला र नदीको दोहन भइरहेको फेला परेको नगर उपप्रमुख बिमलकुमार पुनले बताउनुभयो ।

‘हाम्रो नियमित अनुगमनका क्रममा नगर भित्र पर्ने विभिन्न खोला तथा नदीमा अवैध रुपमा आफुखुसी ढुंगा, गिट्टी, बालुवा निकालिरहेको भेटिएको छ, उहाँले भन्नुभयो–केहीले अनुमति नै लिएको भेटिएन भने केहीले अनुमति लिएपनि सम्झौता भन्दा धेरै निकालिरहेको भेटिएको छ ।’

आफुखुसी नदी तथा खोलाजन्य पदार्थ निकाल्ने निर्माण व्यवसायीहरुलाई कार्बाही समेत सुरु गरिएको उहाँको भनाई छ । अनुमति लिएकाको धरौटी जफत गर्ने देखि अनुमति नलिएकालाई जरिवाना गरिएको पुनले बताउनुभयो ।

नदी तथा खोलाबाट ढुंगा, बालुवा, गिट्टी वा अन्य कुनैपनि चिज निकाल्नु परेमा सम्बन्धीत निकायबाट अनुमति लिनुपर्ने हुन्छ । अनुमति लिएकाले पनि जति सम्झौता भएको हो त्यो भन्दा बढी निकाल्न पाइदैन् ।

तर निर्माण व्यवसायीहरुले आफुखुसी नदी तथा खोलाजन्य पदार्थ निकाल्ने, भण्डारण गर्ने र बेच्ने गरिरहेको भेटिएको समितिका सदस्य धनबहादुर खड्काले बताउनुभयो । यसरी प्राकृतिक स्रोतको दोहन गर्ने कसैलाई पनि नगरपालिकाले नछोड्ने उहाँको भनाई छ ।

प्राकृतिक स्रोत साधनको अवैध निकासीले प्राकृतिक विपत्तिहरु आउन सक्ने भएकोले यसतर्फ नगरपालिका गम्भिर रहेको उहाँको भनाई छ । अहिले ढुंगा, गिट्टी र बालुवा निकालिरहेकाहरुलाई नगरपालिकाले रोकेको छ । प्रक्रिया पुरा नगरे निकाल्न नदिने र कसैले चोरी निकासी गरे कार्बाही हुने नगरपालिकाले चेतावनी दिएको छ ।-कखरा

 

प्रतिक्रिया