करेन्ट लगाएर माछा मार्ने क्रममा मुगुमा एक जनाको मृत्यु
मुगु– खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ।
मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका-१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।
ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए।
अस्पताल पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेश बस्नेतले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ।
माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्नका लागि पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ।
प्रतिक्रिया