सुर्खेतमा अझै केहि दिन तापक्रम निरन्तर बढ्ने
सुर्खेत- केही साता यता नेपालमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जेष्ठ १६ गतेदेखि बढ्न थालेको तापक्रम पछिल्ला चार दिन यता भने ह्वात्तै बढेको छ । यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ ।
अहिले तराई तथा भित्री मधेसका अधिकांश स्थानको तापक्रम ४० डिग्रीभन्दा माथि छ । सरदर खडेरीमा २८ देखि ३० डिग्री औषत तापमान पुग्ने सुर्खेतमा यसपटक ३९ दशमलव चार डिग्री सेल्सियस तापक्रम मापन भएको रेकर्ड छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार वीरेन्द्रनगरको तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस मापन भएको जनाएको छ ।
वीरेन्द्रनगरमा मापन भएको यो तापमान हालसम्मको दोस्रो रेकर्ड हो । विक्रम सम्वत् २०६९ जेष्ठ ३२ गते वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । जबकि सबैभन्दा कम तापक्रम २०६९ पौष २५ गते माइनस सून्य दशमलव सात डिग्री सेल्सियस मापन भएको रेकर्ड छ ।
यस्तै सुर्खेतमा सरदर वर्षाको औषतमा सबैभन्दा धेरै २०७१ साउन ३० गते चार सय २३ मिलिमिटर वर्षा मापन भएको थियो ।
पछिल्लो समय गर्मी ह्वात्तै बढ्न थालेपछि वीरेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा हुने प्रचण्ड गर्मीका कारण चल्ने तातो हावाले स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पारिरहेको छ । जलवायु परिवर्तनका कारण वीरेन्द्रनगर वर्षेनी विभिन्न प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको छ । बढ्दो जनघनत्व त्यसमा पनि भरपर्दो विजुली नहँुदा थप समस्या उत्पन्न भएको छ । मागअनुसारको विजुली आपूर्ति नहँुदा रातको समयमा पनि सहज सुत्न सकिने अवस्थासमेत वीरेन्द्रनगरमा छैन ।
गर्मी बढेसँगै वीरेन्द्रनगरका शैक्षिक संस्थाहरु बन्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम अझै केही दिन लम्बिने देखिएको छ । विभागले यस्तो अवस्थामा आगामी केही दिनसम्म देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू(भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरुपमा बढ्ने देखिन्छ ।
‘
जेष्ठ १६ गतेदेखि लगातार तापक्रममा बृद्धि भइरहेको छ । यो अझै करिव चाररपाँच दिनसम्म लम्बिने सम्भावना छ । मनसुन १३ जुनमा प्रवेश गर्ने औषत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ । मौसमविद् निराजन सापकोटा भन्नुहन्छ, ‘मनसुन अहिले भारतको केरला आइपुगेको छ । यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको छ ।’
हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ देशका तराई भू-भागमा आगामी पाँच दिनसम्म तातो हावाको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ । यस्तै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना देखिएकाले यसबाट सुर्खेतसमेत प्रभावित हुने मौसमविद् सापकोटा बताउँछन् ।
सुर्खेत तातो हावा (लु) चल्न सक्ने सम्भावित क्षेत्रहरुमा समेत पर्दछ । कर्णालीका हिमाली जिल्लाहरुका आंशिक बदली भएपनि तल्लो क्षेत्रमा आगामी केही दिनसम्म वर्षाको सम्भावना नरहेको उहाँको भनाई छ ।
\नेपालको भौगोलिक अवस्थितिका कारण यो समयमा सूर्यको किरण धेरै आउँछ जसका कारण जमिनको सतह धेरै तात्छ र हावालाई पनि तताउने हुँदा गर्मी बढ्ने गर्छ । जलवायु परिवर्तनका कारण कम वर्षा हुनुले पनि तापक्रम वृद्धि हुँदै गएको मौसमविदहरु बताउछन् ।
प्रतिक्रिया