विद्यार्थीलाई गाउँसभाको अभ्यास

विद्यार्थीलाई गाउँसभाको अभ्यास

रुकुम –  रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई गाउँसभाको अभ्यास गराइएको छ ।

राजनीतिक दलको नेतृत्व चयन, दल खोल्ने, दल/दल बीच बहस तथा छलफल, दलको एजेन्डा तय र निर्वाचनका सम्पूणर् प्रक्रिया अवस्थाबारे चार दिन सैद्धान्तिक विषयमा विद्यार्थीलाई पढाइएको थियो भने पाँचौ दिन निर्वाचन अधिकृतको कार्यालय स्थापना, नमुना मतदान, मतगणना, प्रतिनिधि निवार्चित घोषणा र गाउँसभा सञ्चालन अभ्यास गरिएको थियो । नमुना गाउँसभा सञ्चालनमा पुथाउत्तरगङ्गाका माध्यमिक विद्यालयका ४५ जना विद्यार्थी सहभागी थिए ।

सहिद स्मृति शैक्षिक विकास कार्यक्रम अन्तर्गत किशोर तथा किशोरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत विद्यार्थीलाई गाउँसभाको नमुना अभ्यास गरिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरले बताउनुभयो । विद्यार्थीको नेतृत्व विकासका लागि वादविवाद प्रतियोगितालाई गाउँसभा प्रणाली अनुसार सञ्चालन गरिएको बुढामगरको भनाइ रहेको छ । उपाध्यक्ष बुढा मगरले भन्नुभयो, “गाउँसभाले व्यवहारिक ज्ञान सिक्ने र बोल्ने सीपको पनि विकास भएको छ ।”

विद्यार्थीको चौतर्फी विकासका लागि विद्यार्थीलाई नमुना गाउँसभा अभ्यास गराइएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख रामप्रसाद खड्काले बताउनुभयो । गाउँसभा अभ्यासले विद्यार्थीलाई थप व्यवहारिक ज्ञान प्रदान भएको खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया