ग्रामीण बस्तीहरू अझै दियालो र सोलरकै भरमा
सल्यान – सबै नागरिकको घरघरमा बिजुली पुर्याउने सरकारी लक्ष्य भएपनि सल्यानका ग्रामीण बस्तीहरू अझै दियालो र सोलरकै भरमा छन् । बिजुली नपुगेका र भौगोलिक रूपले समेत विकट गाउँ बस्तीका नागरिक दियालो र सोलरको भरमा दिन गुजार्न बाध्य भएका हुन । १० स्थानीय तह रहेको सल्यानमा पालिका केन्द्रहरूसम्म मात्रै राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ ।
पालिकाभित्रका केही वडा विद्युतीय भए पनि अधिकांश ग्रामीण बस्तीहरूमा बिजुली पुग्न नसक्दा सोलरकै भर पर्ने गरेको कुमाख गाउँपालिका ७ तुरतुरेका स्थानिय राम बहादुर चलाउनेले बताउनुभयो । विद्युतीय पहुँच भन्दा टाढा रहेका बस्तीमा अहिले उज्यालो बस्ती तथा सौर्य ऊर्जा कार्यक्रम मार्फत सोलर प्राप्त गरेको उहाँले बताउनुभयो । उहाँले भन्नु भयो गाउँमा सहजै बिद्युत् आउने सम्भावना नभएपछि आफूहरूलाई दियालो भन्दा सोलर नै उपयुक्त लाग्छ ।
लामो समय सम्म दियालोको भरमा रात बिताउँदै आएका स्थानीयले अहिले उज्यालो बस्ती तथा सौर्य ऊर्जा कार्यक्रम मार्फत सोलर पाएपछि सहज भएको अर्का स्थानिय सोभी कुमारी वलीले बताउनुभयो । उहाँले आफूहरूले सोलर बाट उज्यालो भएपनि विद्युत् बिस्तार नभएकै कारण गाउँमा पठनपाठनमा समस्या हुनुका साथै कुटानी पिसानीको समस्या भएको बताउनुभयो ।
सल्यानका कतिपय स्थानीय तहका वडामा त विद्युत् नहुँदा नागरिकलाई दैनिकी चलाउन मात्रै समस्या नभई प्रशासनिक काममा पनि बाधा पुग्ने गरेको छ । ग्रामीण विद्युुतीकरणका लागि यहाँका स्थानीय तहले काम त गरिरहेका छन् । तर छरिएर रहेका बस्तीमा विद्युतीय पुर्याउन समस्या भएको कुमाख गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष डम्बर शाही बताउनुहुन्छ । उहाँले तत्कालै बिद्युत् पुर्याउन नसक्ने बस्तीहरूमा सोलर बिजुली उपलब्ध गराइएको बताउनु भयो ।
उहाँले यस वर्ष मात्र २ सय घर परिवारलाई सोलर वितरण गरेको बताउनुभयो । सबै नागरिकलाई बिद्युत् पुर्याउनको लाग आगामी आर्थिक वर्षभित्रै काम सुरु गरिने कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले बताउनु भयो । उहाँले केही ठाउँमा टेन्डर भइसकेको र केहीमा सुरुवाती चरणमा रहेको बताउनुभयो ।
सल्यानका ६९ प्रतिशत नागरिक मात्र बिजुलीको पहुँचमा छन् । ग्रामीण विद्युतीकरणका लागि भन्दै सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आइरहेको छ । विद्युत् विस्तारका लागि ठेक्का सम्झौता भएका ठाउँमा ठेकेदारले काम नगर्दा पनि विद्युतिकरणमा ढिलाइ हुने गरेको छ । जसका कारण दुर्गम बस्तीहरू अझै पनि दियालो र टुकीको भरमा अँध्यारो छल्न बाध्य छन् ।
प्रतिक्रिया