आयआर्जनको माध्यम बन्दै मौरी पालन
सल्यान- बेरोजगारका कारण दिनहुँ जसो युवा विदेश पलायन भइरहेको समयमा सल्यानका केही कृषकहरूले माहुरी पालन गरी मनग्य आम्दानी गर्दै आइरहेका छन् । थोरै लगानीमा राम्रो आम्दानी भएपछि कृषकहरू माहुरी पालन व्यवसायमा लगानी समेत बढाउँदै जान थालेका छन् । पछिल्लो समय व्यावसायिक रुपमा माहुरी पालन गर्नेहरूको सङ्ख्या समेत बढ्दै जान थालेको छ ।
मौरी सहितको घार र मह बिक्री गरेर सल्यान कालीमाटी गाउँपालिकाकी लिली रावतले वार्षिक ७ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । मौरी पालन सुरु गरेदेखि जीवन धान्न निकै सहज भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो म एकल महिला हुँ । आर्थिक उपार्जनको अर्को माध्यम नभएपछि एक घारबाट मौरी पाल्न सुरु गरेकी हुँ । अहिले मसँगै एक सय भन्दा बढी मौरी घार छन् । वर्षमा ७ लाख जति आम्दानी भएको छ ।
यस वर्ष मात्र कालीमाटी क्षेत्रमा मात्र ५० जना नयाँ कृषकले व्यावसायिक मौरी पालन थालनी गरेको अर्का किसान नारायण वलीले बताउनु भयो । मौरी पकेट कार्यक्रम लागु भएपछि किसानहरूमा मौरी पालन तर्फ आकर्षण बढेको उहाँको भनाई छ ।
मौरी पालन अहिले आम्दानीको गतिलो स्रोत बनेका उमेश कडेलको भनाई छ । वार्षिक ४ देखि ५ लाखसम्म आम्दानी हुँदै आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नु भयो जलवायु परिवर्तनका कारण कहिले धेरै पानी पर्ने त कहिले सुख्खा हुँदा मह उत्पादनमा घटबढ भएपनि वार्षिक ४ देखि ५ लाखसम्मको मह विक्री गर्दै आइरहेको छु ।
मह उत्पादन बढाउन यस वर्ष साझेदारीमा आधारित एक स्थानीय तह एक बाली उत्पादन विशेष कार्यक्रम मार्फत मौरी प्रवर्द्धन कार्यक्रम सञ्चालन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
साझेदारीमा आधारित विशेष कार्यक्रम मार्फत १८ लाख र कार्यालयको ६ लाख गरी २४ लाखको लागतमा यस वर्ष मह उत्पादन सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेसम कुमार बस्नेतले जानकारी दिनु भयो । जिल्लामा १ सय ७० किसानले व्यावसायिक रुपमा मौरी पालन गर्दै आइरहेको उहाँले बताउनु भयो ।
जिल्लामा ४ हजार ३ सय आधुनिक र २ हजार ४९० मुडे घार रहेको कार्यालयले जनाएको छ । यस वर्ष मात्र ७१ वटा मौरीको गोला सहितको घार र २५० आधुनिक घार वितरण गरिएको कार्यालय प्रमुख बस्नेतको भनाई छ ।
प्रतिक्रिया