अमेरिकाविरुद्ध नेपालको शानदार जित

अमेरिकाविरुद्ध नेपालको शानदार जित

काठमाडौं –  भिम सार्कीकोे उत्कृष्ट अर्धशतकीय इनिङ र करण केसीको सर्वाधिक ४ विकेटको मद्दतमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।

जिम्बावेको हिरारेस्थित ताकसिङ्गा स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरको समाप्तिमा अलआउट हुँदै दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर पुरा गर्दै २ सय ११ रन बनायो ।

नेपालको जितमा भिम सार्कीले सर्वाधिक ७७ रनको अविजित इनिङ खेले । उनले १ सय १४ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे ।

नेपाललाई राम्रो सुरुआत दिएका ओपनर कुशद भुर्तेल ५४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३९ रन जोडेर आउट भएका थिए । आसिफ शेख १६ बलमा २ चौकासहित १२ रनमा आउट हुँदा, कप्तान रोहित पौडेलले १६ रन र कुशल मल्ले १३ रन योगदान गरे ।

दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे । अमेरिकाका सौरभ नेत्रभाल्कर, नोत्स केन्जीगे, निसर्ग पटेल र स्टेभन टेलरले समान एक विकेट लिए ।

पहिला ब्याटिङ गरको अमेरिकाका लागि अघिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गदानन्द सिंह पभेलियन फर्किएपछि क्रिजमा सातौं नम्बरमा क्रिजमा आएका जाहङगरले ७९ बलमा १० चौका र ३ छक्काको मद्दतमा शतक पुरा गरेका थिए । संकटमा रहेको अमेरिकाको उद्दार गर्ने क्रममा उनी सय रनमा अविजित रहे । भने, अमेरिका एक ओभर बाँकी रहँदा अलआउट भयो ।

अमेरिकाका सात ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा ओपनर सुशान्त मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४२ रन जोडे । गजानन्द सिंहले २६ रन र जेसी सिंहले १२ रन जोडे ।

नेपालको बलिङमा करण केसीले ९ ओभरमा ३ मेडन राख्दै सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चिएर तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

अमेरिकालाई पराजित गरेसँगै समूह ए मा पहिलो जित निकालेको नेपालले २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा घरेलु टिम जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो ।
अमेरिकाको भने, यो लगातार दोस्रो हार हो । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

अब नेपालले विश्वकप छनोट अन्तर्गत समूह चरणको तेस्रो खेल बिहिबार वेस्ट इन्डिज र अन्तिम खेल सनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया