पूर्वका १९ जलविद्युत् आयोजनामा बाढीले क्षति
काठमाडौँ – यही असार १ र २ गते पूर्वी नेपालमा आएको बाढी पहिरोबाट १९ जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अनुसार ताप्लेजुङ, पाँचथर र संखुवासभाका आयोजनामा क्षति पुगेको हो ।
बाढीका कारण त्यसक्षेत्रका हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला नदी बेसिनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका १९ जलविद्युत आयोजनाहरुमा गम्भीर क्षति पुगेको छ । बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र माया खोला नदी बेसिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट र सुपर हेवा खोला ५ मेगावाटमा क्षति पुगेको छ ।
यस्तै, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ३ मेगावाट, पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ०.९ मेगावाट, माया खोला १४.९ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुगेको छ । सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता भएका छन् । अहिलेसम्म ४ जना मृत फेला परेका छन् ।
त्यसैगरी ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेसिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला ९.७ मेगावाट, इवा खोला ९ मेगावाट, काबेली बी ९१.२५ मेगावाट, काबेली बी ९१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १४.९ मेगावाट, हेवा खोला ५ मेगावाटमा समेत क्षति पुगेको छ ।
यस्तै, लोअर हेवा खोला २२.१ मेगावाट, सुपर काबेली क्यासकेड १२ मेगावाट, काबेली २१.९३ मेगावाट, सुपर काबेली खोला ए १३.५ मेगावाटका आयोजनामा बाढीले क्षति पुगेको छ । क्षति भएका आयोजनाहरुको पुनःनिर्माण कार्य गरी पुरानै अवस्थामा फर्काउन कम्तिमा पनि १ वर्ष समय लाग्ने देखिएकाले ऋणको समयावधि समेत थप्न इप्पानले माग गरेको छ ।
प्रतिक्रिया