सल्यानमा लम्पी स्कीनबाट नौ सय पशु मरे

सल्यानमा लम्पी स्कीनबाट नौ सय पशु मरे

सल्यान –  जिल्लामा लम्पी स्कीन रोगबाट नौ सय बढी पशु मरेका छन् । बितेको तीन महिनाको अवधिमा जिल्लाका दशवटै स्थानीय तहमा नौ सय दुईवटा पशु मरेका हुन् ।

०७९ चैतदेखि हालसम्म सबैभन्दा धेरै दार्मा गाउँपालिकामा एक सय ६४ वटा पशु मरेका छन् भने सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा २९ वटा पशु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार बनगाड कुपिण्डे नगरपालिकामा एक सय ६३ वटा, बागचौर नगरपालिकामा एक सय २१ वटा र शारदा नगरपालिकामा एक सय पाँचवटा पशु मरेका छन् ।

यस्तै सिद्धकुमाख गाउँपालिकामा ९० वटा, कपुरकोट गाउँपालिकामा ७४ वटा, कुमाख गाउँपालिकामा ७२ वटा, कालीमाटी गाउँपालिकामा ५६ वटा र छत्रेश्वरी गाउँपालिकामा ३१ वटा पशु मरेका छन् ।

कार्यालयका सूचना अधिकारी वीरेन्द्र केसीले लम्पी स्कीन रोगबाट जिल्लाका पशुपालक किसान धेरै प्रभावित भएको बताउनुभयो । जिल्लाभर ३२ हजार छ सय ५३ पशु संक्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । संक्रामक विषाणुजन्य रोग लम्पी स्कीनबाट भैंसीको तुलनामा गाईगोरु बढी प्रभावित भएका छन् ।

लम्पी स्किन रोगको संक्रमण हुँदा गाई भैंसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैंसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको संक्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको कार्यालयले जनाएको छ ।

रोगको संक्रमणबाट पशु मृत्युदर कम भए पनि दुहुना पशुहरूको दूध उत्पादनमा उल्लेख्य ह्रास आएको छ । दूध उत्पादनमा ह्रास आउँदा कृषकहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ । लम्पी स्कीन रोग नियन्त्रण र रोकथामको लागि कार्यालयले जनचेतना फैलाउन प्रचारप्रसार गर्नेलगायतका काम गर्दै आएको छ ।

रोग संक्रमणग्रस्त क्षेत्रमा तत्काल निःसंक्रमण, उपचारलगायतका नियन्त्रणका कार्यहरू सञ्चालनमा जोड दिइएको कार्यालयले जनाएको छ । यो रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने, ज्वरो आएको पशुलाई आराम गराउने, प्रशस्त मात्रामा सफा पानी खान दिने, पातलो कुँडो वा नरम घाँस खान दिने, गोठ वरिपरि सफा राख्नेलगायतका सुझाव दिइएको छ ।

गाईभैसीलाई भ्याक्सिन

पशुमा लाग्ने रोग लम्पी स्कीन महामारीका रुपमा फैलिएपछि रोगबिरुद्ध भ्याक्सिन लगाउन थालिएको छ । अहिले जनचेतना जगाउने र पशुहरूमा यस रोगविरुद्ध भ्याक्सिन लगाउने कार्य भइरहेको छ । गाईगोरु तथा भैंसीहरूका लागि लम्पी स्कीन रोगविरुद्ध भ्याक्सिन लगाइएको हो । शुरुवातमा जिल्लाको कालीमाटी गाउँपालिकामा लम्पी स्कीनको लक्षण देखिएपछि पशुहरूको नमूना परीक्षणका लागि सुर्खेतमा पठाइएको थियो । परीक्षणले लम्पी स्कीन पुष्टि गरेपछि यस विषयमा किसानहरूलाई सचेत गराउने र विरामी पशुहरुको उपचार गर्ने कार्य गरिएको हो ।

अहिले लम्पी स्कीन देखिएका पशुहरू निको भइरहेका कार्यालयले जनाएको छ । खेतीपातीको बेलामा धमाधम गोरु मर्न थालेपछि किसान चिन्तामा परेका छन् । महामारीकै रुपमा फैलिएको नयाँ रोगले गाईगोरु मरेपछि आफूहरु समस्यामा परेको र नोक्सानी भएको किसान शिवप्रसाद केसीले बताउनुभयो । -सल्यानटुडे

प्रतिक्रिया