लागू औषध नियन्त्रण सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरिदैं

लागू औषध नियन्त्रण सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरिदैं

रुकुम पश्चिम-  रुकुम पश्चिममा पनि लागू औषध नियन्त्रण सम्बन्धी सप्ताहव्यापी कार्यक्रम गरिदैं छ । आजबाट एक हप्तासम्म जिल्लामा लागू औषध नियन्त्रण सम्बन्धी विभिन्न कार्यक्रम हुने छन् । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सप्ताहको सुरुवात गरिएको हो ।

जिल्लास्थित सुरक्षा निकायहरु, प्रदेश र स्थानीय तहहरुसंगको समन्वय र सहकार्यमा लागू औषध नियन्त्रण सम्बन्धी सप्ताहको सुरुवात गरिएको हो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले लागू औषध, यसले समाज र व्यक्तिको स्वास्थ्य तथा परिवारमा पार्ने असर, जिल्लामा लागू औषध दुव्र्यशनीको अवस्था, लागू औषधको खेती लगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको उहाँले बताउनुभयो । विभिन्न समयमा गरेर जिल्लाका विभिन्न ठाउँमा गरी १ सय ५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको डिएसपी भट्टराईले जानकारी गराउनुभयो । ठूलो क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएपनि उक्त खेती कसले गर्यो भन्ने बारेमा भने पत्ता लाग्न नसकेको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले लागू औषध नियन्त्रणका लागि सरोकारवाला सबैको उत्तिकै जिम्मेवारी रहेको र यसका लागि सबै एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । साथै उहाँले जिल्लामै लागू पदार्थको दुव्र्यशनीमा फसेकाहरुका लागि काउन्सिलको व्यवस्था हुनेपर्ने बताउनुभयो ।

सबै पालिकामा लागू औषध नियन्त्रण सम्बन्धी काउन्सिलरको व्यवस्था भएमा लागू औषध सेवन गर्नेहरुको संख्यामा कमी आउने र दुव्र्यशनीमा फसेकालाई पनि सामान्य अवस्थामा फर्काउन मद्त पुग्ने उहाँको विश्वास छ ।

त्यस्तै मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले जिल्लामा एउटा सुधार गृहको आवश्यकता रहेको बताउनुभयो । लागू पदार्थको दुव्र्यशनीमा फसेकालाई जिल्लामै सुधार गृहमा राख्न सक्ने व्यवस्था भएमा सहज हुने उहाँले बताउनुभयो । यसका लागि आफुहरु तयार रहेको र जिल्लास्थित अन्य सरोकारवालाहरु पनि तयार हुनुपर्ने उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकार हरिप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले गर्नुभएको थियो ।

हरेक वर्षको जुन २० देखि जुन २६ सम्म लागू औषध नियन्त्रण सप्ताह संचालन हुने गरेको छ । रुकुम पश्चिममा पनि आजबाट सप्ताह सुरु भएको र साताव्यापी रुपमा विभिन्न कार्यक्रम हुने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहलाई सप्ताहको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न भनिएको उहाँले बताउनुभयो ।-कखरा

प्रतिक्रिया