हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरुद्ध चलचित्र संघ पुग्यो अदालत

हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरुद्ध चलचित्र संघ पुग्यो अदालत

काठमाडौँ –  काठमाडौँ महानगर भित्रका हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन शाहको निर्णय विरुद्ध चलचित्र सङ्घ अदालत पुगेको छ । सङ्घले बुधवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । सङ्घको मुद्दा दर्ता गरिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताउनुभयो ।

‘महानगरपालिकाले आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू प्रतिबन्ध लगाउने निर्णय गरेको रहेछ । त्यसविरूद्ध नेपाल चलचित्र सङ्घले आदिपुरुष मात्रै प्रतिबन्ध लगाउँदा ठिकै थियो । तर सबै हिन्दी फिल्म बन्द गर्न मिल्दैन भनेर उजुरी दिनु भएको छ’, कट्टेलले भन्नुभयो, ‘हामीले उजुरी दर्ता गरेका छौ । त्यसको भोलि सुनुवाइ होला ।’

सङ्घका कानुनी सल्लाहकार तथा अधिवक्ता जयलाल भण्डारीमार्फत उजुरी दर्ता गरिएको हो । मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दर्ता भएको छ ।

व्यक्तिगत कुरामा अल्झिनु भन्दा कानुनी बाटो खोज्ने उद्देश्यले मुद्दा दर्ता गरेको चलचित्र सङ्घका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले बताउनुभयो । निषेध ‘आदिपुरुष’ का लागि मात्र भए केही थिएन । महानगरले सबै हिन्दी फिल्म रोकेको छ’, उहाँले भन्नुभयो, ‘त्यो महानगरको क्षेत्रभित्र पर्छ कि पर्दैन । अब त्यो पनि थाहा हुन्छ ।’ आफूहरूले व्यवसाय गर्न पाउने भन्दै अदालतमा पुगेको कायस्थको भनाई छ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाउनुभएको थियो ।

प्रतिक्रिया