एमालेले चाहे एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला

एमालेले चाहे एक हप्ताभित्र सरकार ढल्छ : सचेतक बर्तौला

काठमाडौँ –  नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्ने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताउनुभयो ।

सचेतक बर्तौलाले सरकार एमालेको प्रयत्नले नभई गठबन्धनभित्रकै अन्तर्विरोध, असमझदारी र अविश्वासले ढल्ने दाबी गर्नुभयो । उहाँले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पार्नुभयो ।

सचेतक बर्तौलाले एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको समेत बताउनुभयो। समाजवादी मोर्चाले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पु¥याउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेकपा(एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । नागरिकहरूको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हितको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदि नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो ।’

सचेतक बर्तौलाले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताउनुभयो । यसले देश र जनताको हितमा काम नगर्ने उनले टिप्पणी गर्नुभयो । उहाँले मोर्चामा आबद्ध दलहरू बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गर्नुभयो ।

सचेतक बर्तौलाले प्रदेशसभाले पारित गरेर नामकरण गरिएको प्रदेशको नामलाई संघीय सरकारको दस्ताबेजमा अस्वीकार गर्नु गम्भीर विषय भएको बताउनुभयो । उहाँले पर्यटनमन्त्रीले दूषित नियतका साथ मन्त्रालयको बजेट वक्तव्यमा कोशी प्रदेशको नाम समावेश नगरेको बताउनुभयो ।

प्रतिक्रिया