बाढीपहिरोको उच्च जोखिममा कर्णालीका तीन जिल्ला

बाढीपहिरोको उच्च जोखिममा कर्णालीका तीन जिल्ला

सुर्खेत –   कर्णालीका तीन जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कर्णाली प्रदेशका रूकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढी पहिरोको उच्च जोखिममा छन् । विगतका वर्षहरूमा भएका घटनालाई आधार मान्दा यी तीन जिल्लाहरू बढीपहिरोको उच्च जोखिममा रहेको देखिएको हो ।

पछिल्ला वर्षमा पहिरोबाट हुने विपद् थप चुनौती पूर्ण बन्दै गएको छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिका घटनामा वृद्धि भएको आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन शाखाका अधिकृत कृष्णबहादुर रोकायले बताउनुभयो । उहाँले कर्णाली प्रदेश विपद्को जोखिममा रहेको बताउनुभयो । प्रदेशमा भएका विपद्का घटनामध्ये अधिकांश पहिरोका घटना रहेको रोकायाले बताउनुभयो ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा वर्षाका कारण एक हजार ६ सय ३५ वटा घटनामध्ये तीन सय ४८ वटा पहिरोका रहेको बताए । प्रदेशभर पहिरोका कारण ६५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी विपद्मा परि २८ जना बेपत्ता भएका छन्, जसमध्ये अधिकांश पहिरोका कारण बेपत्ता रहेका उहाँले बताउनुभयो ।

रोकायका अनुसार प्रदेशमा विपद् पूर्व तयारीको विभिन्न क्रियाकलापहरु सञ्चालन भइरहेको जनाउनुभयो । । ‘विपद् पूर्वतयारीका विभिन्न बैठकहरू सञ्चालन भइरहेका छन्’ रोकायले भन्नुभयो, ‘यसका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेका छौ ।’

उहाँले विपद्को सन्दर्भमा केन्द्र सरकारले अन्य प्रदेशसरह नै व्यवहार भइरहेको भन्दै कर्णालीलाई विशेष कार्यक्रममा जोड दिनुपर्ने बताउनुहुन्छ । ‘अन्य प्रदेशको तुलनामा कर्णाली विपद्का दृष्टिकोणले बढी जोखिममा छ’ रोकाय भन्नुहुन्छ, ‘तर केन्द्रले अन्य प्रदेश सरह नै कर्णालीलाई पनि व्यवहार गरिरहेको अवस्था छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रदेशमा बर्सेनि विपद्का घटना बढ्दो क्रममा छन् । आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७८/७९ मा एक हजार दुई सय १५ वटा विपद्का घटना भएका थिए । चालू आर्थिक वर्षमा विपद्का घटनामा दोब्बरले वुद्धि भएको छ । यो वर्ष दुई हजार एक सय ५५ वटा घटना भएका छन् ।

यो वर्ष पहिरोका तीन सय ४८ वटा घटना भएका छन् । जसबाट ३८ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । चालू आर्थिक वर्षमा ३१ वटा बाढीका घटना भएका छन् । बाढीबाट चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्राकृतिक विपत्तिका कारण कर्णालीमा धेरैको ज्यान जाने गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक विपत्तिबाट ८५ जनाले ज्यान गुमाएका थिए । एक सय सात जना घाइते भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ६८ जनाको मृत्यु भयो भने ७३ जना घाइते भए । चालू आर्थिक वर्ष २०७९/०८० मा विपद्का कारण ६५ जनाको मृत्यु भइसकेको छ । यसै गरी एक सय दश जना घाइते भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा ८६ वटा आगलागीका घटना भएका छन् । जसबाट सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । यसैगरी चट्याङका ३३ वटा घटना भएका छन् । तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

चालू आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै विपद्का घटना हुम्ला जिल्लामा भएका छन् । हुम्लामा ९ सय ४० वटा मनसुनजन्य घटनामा परी आठ जनाको मृत्यु हुँदा ६ जना घाइते र ९ सय ४ घरमा क्षति पुगेको छ । घटनामा दुई जना बेपत्ता छन् भने ३ हजार २ सय ८६ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरीको तथ्यांक छ ।

यस्तै, डोल्पामा सबैभन्दा कम विपद्का घटना भएका छन् । चालू आर्थिक वर्षको अन्त्यसम्ममा डोल्पामा १५ वटा विपद्का घटना घट्दा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते हुँदा ३२ परिवार विस्थापित भएको प्रदेश प्रहरीले जनाएको छ । यस्तै, सुर्खेतमा ४ सय ३४ वटा विपद्जन्य घटनामा परी १८ जना घाइते भएका छन् भने ३ सय ७९ घरमा क्षति पुग्दा ५ सय ६६ घरपरिवार विस्थापित भएका छन् ।

 

प्रतिक्रिया