हजार दिनका आमालाई कुखुरा वितरण

हजार दिनका आमालाई कुखुरा वितरण

सल्यान –   सल्यानमा सुनौलो हजार दिनका आमालाई कुुखुुरा वितरण गरिएको छ । आमा र नवजात शिशुुको स्वास्थ्यमा सुधार ल्याउन जिल्लाको शारदा नगरपालिका वडा नं. ९ मा कुखुरा वितरण गरेको हो । नेपाल सरकारको बहुुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका सबै आमालाई कुखुुरा वितरण गरिएको हो ।

शुक्रवार वडा कार्यालय आरा, चल्लेफाराम र सालचौरमा पुगेर सुनौलो हजार दिनका आमालाई कुखुरा र कुखुराको दाना वितरण गरिएको हो । वडा भित्रका ८८ जना सुनौलो हजार दिनका आमालाई दुईरदुई वटाका दरले कुखुुरा र कुखुराको दाना वितरण गरिएको वडाअध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले बताउनुभयो ।

आमा तथा शिशुुलाई कुपोषणबाट जोगाउनका लागि कुखुुरा वितरण गरिएको उहाँको भनाइ छ । ‘सुनौला हजार दिनका आमालाई सहयोग पुगोस् भनेर हामीले कुखुरा वितरण गरेका हौ, सुनौला हजार दिनका आमालाई राम्रै सहयोग पुग्ने विश्वास छ’ उहाँले भन्नुभयो ‘सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्यमा सुधार र कुपोषणको दर न्युनिकरण हुने छ ।’

ग्रामीण क्षेगका महिलालाई गर्भ रहेको र सुत्केरी भएको अवस्थामा पोषिलो खानेकुरा खुवाउन समस्या भएकाले उनीहरूलाई लक्षित गरी कुखुरा वितरण गरिएको उहाँको भनाइ छ । ‘गर्भवती र सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा नपाएका कारण आमा र बच्चा कुपोषित हुने गरेकाले कुखुरा वितरण गरिएको हो’ उहाँले भन्नुभयो । सुनौला हजार दिनका आमाले कुखुरा पाउन थालेपछि अहिले आमा बनेका महिला निकै खुसी भएका छन् ।

अन्य बस्तुभाउ भन्दा कुखुरा पाल्न र हुर्काउन सजिलो हुने भएकाले कुखुरा पाएपछि स्थानीय खुसी भएका हुन् । ‘सधैँभरि पोषण दिएर पुग्दैन, आफ्नो घरमै बनाएर खाने बानीको विकास होस् भन्नका लागि पनि वितरण गरिएको हो, सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले यो कार्यक्रम प्रभावकारी बनेको छ’ वडाअध्यक्ष बुढाथोकीले भन्नुभयो ।

पोषण स्वयम्सेविका निर्मला चन्दले बच्चालाई स्वस्थ्य बनाउनको लागी पोषण आवश्यक रहेको बताउनुभयो । बच्चालाई शक्ति दिने, वृद्धि गर्ने, बिकास गर्ने खालका खाना नियमित खुवाउदाँ फाइदा पुग्ने उहाँको भनाइ छ । कार्यक्रमको सहजीकरण शारदा नगरपालिका पशु सेवा शाखाका सहायकस्तर पाँचौँ मधुसुदन उपाध्यायले गर्नुभएको थियो ।-सल्यानटुडे

प्रतिक्रिया