खाग चोरिएकाे अवस्थामा गैँडाको अस्थिपञ्जर फेला
बारा – चितवन र पर्सा राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र मकवानपुरको प्रतापपुर नजिकै खाग चोरी गरेको अवस्थामा गैँडाको अस्थिपञ्जर मात्रै फेला परेको छ । वन्यजन्तु तस्करहरूले करिब २ महिना अघि खाग चोरी गरेको गैँडालाई पर्सा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको गस्ती टोलीले शुक्रवार फेला पारेको हो ।
शरीर पुरै कुहिएर गन्हाएको अवस्थामा भेटिएको गैँडा भाले या पोथी भनेर नछुट्टिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जनाएका छन् । ‘चितवन र पर्सा राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा करिब २ महिना अघि नै तस्करहरूले खाग निकालेर छोडेको गैँडालाई हाम्रो गस्ती टोलीले अस्थिपञ्जर मात्रै भएको अवस्थामा फेला पारेको हो’ सूचना अधिकारी खड्काले भन्नुभयो ‘गैँडा तस्करबारे खोजी तथा अनुसन्धान भइरहेको छ’ ।
गणनामा ३ वटा मात्रै देखिए पनि पर्सा राष्ट्रिय निकुञ्जमा ८ देखि १० गैँडा छन् । सीमा क्षेत्र जोडिएकोले चितवन राष्ट्रिय निकुञ्जका गैँडाहरु पर्सातर्फ आउजाउ गर्ने गर्छन् । वन्यजन्तु तस्करहरूको अन्तर्राष्ट्रिय गिरोहले योजनाबद्ध ढङ्गले गैँडाको गतिविधिलाई नियालेर तस्करी गरेको निकुञ्ज श्रोतले जनाएको छ ।
गैँडाको खाग अन्तर्राष्ट्रिय बजारमा बाहुल्य मानिन्छ । ‘यो २-४ दिन वा एक डेढ महिनाको काम होइन खाग तस्करहरूको गिरोहले २३ वर्षदेखि यो गैँडाको गतिविधिलाई पछ्याएर तस्करी गरेको देखिन्छ’ निकुञ्जका एक अधिकारीले भन्नुभयो ।
प्रतिक्रिया