मुसिकोटले ल्यायो झण्डै ७५ करोडको बजेट
रुकुम पश्चिम- रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले झण्डै ७५ करोड बराबरको बजेट ल्याएको छ । आइतबार मुसिकोट नगरपालिका वडा नम्बर ७ को ठूली दहमा आयोजित १२ नगर सभामा उपप्रमुख बिमलकुमार पुनले ७४ करोड ८६ लाख २७ हजार ५ सय २५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो । कुल बजेटमध्ये चालु तर्फ ५७ करोड १० लाख २७ हजार ५ सय २५ रुपैयाँ छ । यो कुल बजेटको ७६.२७ प्रतिशत हो । पुँजीगत तर्फ भने २३.७३ प्रतिशत मात्र रहेको छ । नगरपालिकाको पुँजीगत तर्फ १७ करोड ७६ लाख मात्र रहेको छ ।
आगामी वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमा संघीय वित्तीय समानीकरण अनुदान १ करोड ५१ लाख, सशर्त अनुदान ३५ करोड ९५ लाख, राजस्व बाँडफाड १० करोड ५० लाख ८४ हजार, विशेष अनुदान ८० लाख र संघीय समपूरक अनुदान ७५ लाख रहेको छ । त्यस्तै कर्णाली प्रदेश समानीकरण अनुदान १ करोड ३३ लाख ४७ हजार, सशर्त अनुदान ६ करोड १९ लाख ६२ हजार, राजस्व बाँडफाड ११ लाख ३४ हजार ५ सय २५ रुपैयाँ, विशेष अनुदान ९० लाख र समपूरक अनुदान १ करोड ५० लाख आउने अनुमान गरिएको छ ।
त्यस्तै नगरपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ३० लाख प्राप्त हुने अनुमान गरेको छ भने चालु आर्थिक वर्षको मौज्दात रकम २ करोड पनि आगामी बर्षमा खर्च गर्ने गरी बजेट ल्याएको छ ।
प्रतिक्रिया