सांसदलाई खुसी बनाउन सकिएन : मन्त्री किराँती

सांसदलाई खुसी बनाउन सकिएन  : मन्त्री किराँती

काठमाडौँ –   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०र८१ को बजेट असन्तुलित भएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०र८१ को बजेट असन्तुलित हुन गएको बताउनुभएको हो । उहाँले बजेट असन्तुलित भएकोमा माफी समेत माग्नुभयो ।

मन्त्री किराँतीले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताउनुभयो । उहाँले सांसदहरुलाई खुसी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताउनुभयो ।

मन्त्री किराँतीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताउनुभयो । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ,‘स्वाभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ । त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थि छु । माननीय सांसदहरुको मागलाई हामीले लिपिबद्ध गरेर सम्बन्धित मन्त्रालय पठाएका थियौँ । त्यहाँ पनि बजेटको सीमाले योजनाहरु पर्न सकेन भनेर हामीले बुझ्दा राम्रो हुन्छ होला । बजेको सीमा करिब ४५ प्रतिशतले हाम्रो मन्त्रालयमा घटेर आयो ।’

मन्त्री किराँतीले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानबिन गरिएको बताउनुभयो । उहाँले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया