लागुऔषध रोकथामका लागि विद्यालयस्तरमा जनचेतना कार्यक्रम

लागुऔषध रोकथामका लागि विद्यालयस्तरमा जनचेतना कार्यक्रम

सुर्खेत –   लागुऔषध न्यूनिकरण र रोकथामका लागि सुर्खेत प्रहरीले विद्यालयस्तरमा जनचेतना कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय कर्णालीमा बढ्दै गएको लागुऔषधको प्रयोग र ओसारपसारलाई निरुत्साहित गर्न विशेष योजनासहित प्रहरीले विद्यार्थीहरुलाई सचेत गराउने अभियान थालनी गरेको हो ।

जस अन्तर्गत मंगलबार वीरेन्द्रनगरमा रहेको एसोएस हर्मनमाइनर विद्यालयमा कक्षा ९, १० र ११ मा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरहरुका बारेमा जानकारी गराईको थियो ।

कार्यक्रमको सहजिकरण गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीले लागुऔषध दुव्र्यसनीको कारण, उत्पन जटिलता, समाधान तथा विद्यमान कानूनी व्यवस्थाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । भारतीय खुला सिमानाका कारण नेपालगञ्जको बाटो हुँदै सुर्खेतमा लागुऔषध ओसारपसार हुने गरेको शाहीको भनाई थियो । यातायातको पहुँच भएसँगै सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा यसको प्रयोग र कारोवारसमेत बढ्न थालेको शाहीले बताउनुभयो ।

प्रहरीले थालनी गरेको सुरक्षित कर्णाली विशेष अभियान–२०८० अन्तर्गत सम्बेदनशिल १४ क्षेत्रका ७८ वटा कार्यक्रम मध्ये लागुऔषध दुव्र्यसनी रोकथामका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम सुरु गरिएको डिएसपी शाहीको भनाई छ ।

लागुऔषध न्यूनिकरणका लागि हालसम्म भएका प्रयासको विश्लेषण गर्दै वर्तमानको अवस्था हेरेर आगामी सुरक्षा योजना अगाडि सारेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल बताउनुहुन्छ ।

लागुऔषध कारोवारी र प्रयोगकर्ताको खोजि गरी कानूनी दायरामा ल्याउने प्रहरीको नियमित कामलाई विशेष योजनासहित अगाडि बढाइएको उल्लेख गर्दै जनचेतनाको अभियानलाई विद्यालयस्तरबाट थालनी गरिएको ढकालको भनाई छ । ‘विद्यालयतहदेखि नै विद्यार्थीलाई जनचेतना जगाउन सकिएको खण्डमा घर, परिवार तथा समाजलाई सचेत गराउन सकिने उद्देश्यका साथ कर्णालीका सबै विद्यालयमा लागुऔषध न्यूनिकरणको अभियान थालनी गरेका छौं ।’ ढकालले भन्नुभयो ।

प्रतिक्रिया