सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्न हेलचक्र्याइँ गरेको छैन : कानुनमन्त्री
काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्र्याँई नगरेको दाबी गर्नुभएको छ ।
आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘कालोधन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्नुपर्ने कुरामा दुई मत रहेन। यसको हेलचक्र्याई भइरहेको सन्दर्भ उठेको छ। पटक्कै हेलचक्र्याई गर्न खोजिएको छैन। माथि होस कि तल। दायाँ होस कि वायाँ कोही पनि पीडकलाई छोड्नुहुन्न,’ उहाँले भन्नुभयो ।
मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो–सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत स्पष्ट पार्नुभयो । उहाँले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि पटकपटक दोहो¥याउनुभयो ।
‘यदि हामी न्यायको पक्षमा उभिन्छौं भने, यदि हामी पीडितको पक्षमा उभिन्छौं भने माथिलाई छोडने, तललाई समात्ने हुँदै होइन। सरकार अहिले त्यही बाटोमा अघि बढिराखेको छ। ठूलो, सानो हामी हेर्दैनौं। अनुहार पनि हेर्दैनौं । राजनीतिक पार्टी पनि हेर्दैनौं,’ उहाँले भन्नुभयो । मन्त्री गुरुङले वित्तिय अनुशासन उलंघन गर्नेहरुलाई सरकारले नछोडने पनि दोहोर्याउनुभयो ।
प्रतिक्रिया