प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूको बैठक आह्वान गर्नुभएको छ । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक आह्वान गरिएको उहाँको सचिवालयले जानकारी दिएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ। गठबन्धनभित्रको पछिल्लो अवस्थाबारे पनि आजको बैठकमा समीक्षा हुने एक नेताले बताए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा भएको छलफलबारे पनि आजको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ।

हिजो (आइतबार) जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग समेत प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। उनले राउतलाई सरकारमा सामेल हुन समेत आग्रह गरेका थिए ।

साथै, कोशी प्रदेश सरकार गठनका विषयमा पनि केन्द्रमा नेताहरूबीच छलफल हुने बताइएको छ। नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेसँगै त्यहाँ नेतृत्व लिन दलहरूबीच हानथाप चलिरहेको छ।

कोशीका नेताहरू पनि नेतृत्वको विवाद मिलाउन केन्द्रका नेताहरू गुहार्न थालेपछि गठबन्धन बैठकबाट निश्कर्ष निकाल्न लागिएको हो।

प्रतिक्रिया