एक नम्बर पार्टी एमालेलाई बनाउने संकल्पसहित कर्णाली आएको हुँ : भट्ट

एक नम्बर पार्टी एमालेलाई  बनाउने संकल्पसहित कर्णाली आएको हुँ : भट्ट

सुर्खेत –   नेकपा एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीलाई एक नम्बर बनाउने संकल्पसहित आफू कर्णाली आएको बताउनुभएको छ ।
जनवर्गीय संगठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आत्मकेन्द्रीत सोच त्यागेर काम गर्नुपर्ने बताउनुभयो ।

इन्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राख्नुभयो । ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीको कारखाना हुन्,’ उहाँले भन्नुभयो, ‘संगठनका सदस्यहरुले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’

पार्टी केन्द्रले पठाएका अन्तर पार्टी निर्देशन, दस्तावेजहरु जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उहाँको भनाई थियो । बैठकमा जनवर्गीय संगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेतृत्वको भर्त्सना गरेर मात्र नेता भइन्छ भन्ने सोच त्याग्न आग्रह गर्नुभयो ।

कुण्ठा पोख्ने, अराजकता प्रदर्शन गर्ने शैलीबाट पार्टी नबन्ने भन्दै ढकालले भभन्नुभयो, ‘जनवर्गीय संगठनहरुले कार्यशालामार्फत आफ्नो संगठनका मुद्दाहरुको पहिचान गरी जनतासँग जोडिनुपर्छ, पार्टी नीति र नेतृत्वको सदैव रक्षा गर्नुपर्छ ।

पार्टी केन्द्रीय सदस्य एवं स्कुल विभागको प्रदेश समन्वय इन्चार्ज विष्णु रिजालले ‘पपुलिज्म’ले पार्टी र युवा पुस्तामा पारेको प्रभावलाई निस्तेज पार्नु अहिलेको मुख्य चुनौती रहेको औंल्याउनुभयो ।

पार्टीले मिसन ग्रासरुटपछि जनसंगठन, पार्टी स्कुल र प्रचारको कामलाई व्यवस्थित गर्न विशेष कार्ययोजनाका साथ काम अघि बढाउने निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले पार्टी स्कुल विभागले कर्णाली प्रदेशमा ४० जना प्रशिक्षक उत्पादन गरी कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक प्रशिक्षण दिने योजना रहेको बताउनुभयो ।

 

प्रतिक्रिया