ललिता निवासको फाइल खुल्यो,अरु फाइल पनि खोल्छौँ : प्रधानमन्त्री प्रचण्ड

ललिता निवासको फाइल खुल्यो,अरु फाइल पनि खोल्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताउनुभएको छ ।

बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको पनि बताउनुभयो ।

‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु’, उहाँले भन्नुभयो, ‘भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुस्- थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ।’

उहाँले २०६३ को निर्वाचनमा राम्रो परिणाम ल्याएर पनि पार्टीलाई एक बनाएर राख्न नसक्दा माओवादी आन्दोलन कमजोर भएको बताउनुभयो ।

‘२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं। तर, पार्टी एकतावद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो’, उहाँले भन्नुभयो, ‘फेरि एउटा नयाँ परिस्थिति बनेको छ। माओवादी शक्तिबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाएर बृहत एकतासहित अगाडि बढिन्छ ।’

उहाँले अहिले पनि आफूहरुलाई घेरा हाल्ने काम भइरहेको बताउनुभयो । ‘घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो’, उहाँले भन्नुभयो, ‘यो आफैँमा वर्गसंघर्ष हो । वर्गसंघर्षको चरित्रमा फेरिएको छैन, रूप मात्रै फेरिएको हो। २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिनुपर्छ,दिन्छौँ ।’

उहाँले अहिले भ्रष्टाचारविरोधी अभियानका क्रममा भ्रष्टाचारीहरु विक्षिप्त भएको बताउनुभयो । ‘इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्, हैरान र परेसान छन्’, उहाँले भन्नुभयो, ‘तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ। सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं। सरकार असफल पार्ने, कुप्रचार गर्नेहरू छन् । तर, तिनीहरूलाई जनताले ठीक पार्छन् ।’

 

प्रतिक्रिया