सिद्ध कुमाखमा बजार अनुगमण
सल्यान- सल्यानको सिद्ध कुमाख गाउँपालिकाले बजार अनुगमन गरेको छ । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको अनुगमन गरिएको हो । सोमबार सिद्ध कुमाख गाउँपालिकाका उपाध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक रामबहादुर बस्नेतको नेतृत्वमा पालिका भित्र रहेका मोखला बजार, पटारे बजार, चाख्लीघाट बजार र ढोरचौर बजारको अनगुमन गरिएको छ ।
बजार अनुगमनका क्रममा म्याद गुज्रिएका मालसामानसँगै कालोबजारी गरेर बिक्री गर्दै आएको पेट्रोल बरामद गरिएको छ । अनुगमनका क्रममा करिब २५ भन्दा बढी पसलहरुको अनुगमन गरिएको हो । जसमा किराना तथा गल्ला पसल, होटल, मासु पसललगायतको अनुगमन गरिएको हो । वर्षायाम शुरु भएकाले बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुनसक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका सामानसँगै कालोबजारी गरेर बिक्री गर्दै आएको ठूलो परिमाणको पेट्रोल बरामद गरिएको छ । अनगुमन टोलीले मोख्ला, चाख्लीघाट र ढोरचौबाट गरेर पेट्रोल तीन सय ३४ लिटर बरामद गरेको छ । यस्तै भुजा ४९ प्याकेट, चिजवल ४८ प्याकेट, सस चार बोतल, मसला ४२ प्याकेट, बिस्कुट २१ प्याकेट बरामद गरिएको छ । पेट्रोल पम्पमा पेट्रोल अभाव हुने तर किराना पसलमा मनपरी मूल्यमा पेट्रोल बिक्री भइरहेकाले पेट्रोल बरामद गरिएको हो ।
अनुमतिबिना नै बोतलमा राखेर मनपरी मूल्यमा पेट्रोल बिक्री भएको र यसले आगलागीको जोखिम समेत निम्त्याउने भएकाले अनुगमन टोलीले पेट्रोल बरामद गरेको हो । किराना पसलबाट पेट्रोल बिक्री गर्दै आएका एक व्यापारीले स्थानीयको सहजताका लागि पम्पबाट ल्याइ बोतलमा राखेर पेट्रोल बेच्दै आएको बताउनुभएको छ । उहँले यसरी पेट्रोल बेच्दा जोखिम हुने थाहा पाएको भए पनि व्यवसायका लागि पेट्रोल बेच्दै आएको बताउनुभयो ।
अनुगमन टोलीले बोतलमा राखेर पेट्रोल बिक्री वितरण गर्नु कानुन विपरीत हुने र उपभोक्ता ठगिने भएको भन्दै चारवटा पसलबाट पेट्रोल बरामद गरेको हो । आमउपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी, नियमविपरीत मूल्य, म्याद नाघेका खाद्य वस्तुहरुको नियन्त्रण गर्न बजार अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष बस्नेतले बताउनुभयो । उपभोक्ताहरुले सामग्री खरिद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न सुझाव दिइएको छ । ‘बजारमा अनुगमन गर्दा आधारभूतरूपमा राम्रो देखिए पनि केही पसलमा तौलका ढकहरुमा खिया लागेको भेटियो, व्यवसाय दर्ता नगरेको, केही व्यवसायीले मूल्यसूची नटाँसेर पसल सञ्चालन गरेको पाइएको छ, उपभोक्ताले सामग्री खरिद गर्दा ध्यान दिन जरुरी छ’– बस्नेतले भन्नुभयो ।
उहाँले चाडपर्वको समयमा मात्रै औपचारिकता निभाउनको लागि वजार अनुगमन गरिन्छ भन्ने भ्रम चिर्न अनुगमन गरिएको र वर्षमा चार पटक अनुगमन गर्ने तयारी रहेको बताउनुभयो । पालिकाभित्रका ग्रामीण भेगमा रहेका किराना पसलहरुको पनि अनुगमन गरिने उहाँको भनाइ छ । अनुगमन टोलीले खाद्य सामग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे–नगरेको, व्यवसायको नाम, मूल्यसूची हेर्नुका साथै प्यान र पसल दर्ता गरिएको फर्म उपभोक्ताले देख्ने गरी राख्न व्यवसायीलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया