फरार प्रतिवादी खलंगाबाट पक्राउ
रुकुम पश्चिम- रुकुम पश्चिममा ज्यान मार्ने मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ खुम्चेरीका २७ वर्षिय विक्रम बाँठा मगरलाई प्रहरीले मंगलबार सदरमुकाम खलंगाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक जयबहादुर रावतको कमाण्डमा खटिएको प्रहरी टोलीले बाँठालाई खलंगामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो ।
बाँठालाई ज्यान मार्ने उद्योग मुद्दामा अदालतले १० हजार जरिवाना र ११ महिना कैद तोकेको थियो । उनी फरार थिए । पक्राउ पश्चात प्रतिवादी बाँठालाई कैद सजाय र जरिवाना असुल उपरको लागि जिल्ला अदालतमा पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । अदालतको फैसला कार्यान्वय अन्तर्गत पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्र पारेको छ ।
प्रतिक्रिया