वर्तमान सरकार अजिबको लाग्यो : ज्ञवाली

वर्तमान सरकार अजिबको लाग्यो : ज्ञवाली

सुर्खेत –  नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बसौँ, बाँडीचुँडी खाऔँ’ भन्ने रहेको टिप्पणी गर्नुभएको छ ।

बुधबार नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्याक्रममा बोल्दै नेता ज्ञावालीले यस्तो बताउनुभएको छ ।

साथै, उहाँले वर्तमान सरकार बडो अजिवको सरकार भन्दै आलोचना गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘संघीयता खारेजवाला र १४ वटा प्रदेश बनाऔँ भन्ने मधेशवादी पनि सामेल भएका छन्। वर्तमान सरकारबाट देशले कुनै निकास हुन सक्दैन।’

यस्तै, ज्ञवालीले वर्तमान नयाँ शक्ति भन्ने गरिएका दलहरुप्रति लक्षित गर्दै भने, ‘पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्वपूर्ण हो।’

जे भन्दा बढी पपुलर हुने भन्ने बन्ने होडबाजी चलेको बताउँदै ज्ञवालीले ‘ढुङ्गा हान्ने जहाँ खस्यो हो, त्यहीँ मैले हान्न खोजेको’ भन्ने खालको प्रवृती मौलाएको बताउनुभयो ।
पार्टीको आन्तरिक विषयमा बोल्दै ज्ञवालीले एमालेमा पठन–पाठनको सस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो।

‘सातै प्रदेशमा स्कुलहरु सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरु सञ्चालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालनका लगि सात जना केन्द्रीय कमिटी सदस्यहरू खटिएका छन्,’ उहाँले भन्नुभयो।

साथै, उहाँले विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा उत्पादनको ढाँचामा धेरै परिर्वतन आएको बताए। ती प्रविधिसँग पार्टीलाई जोडेर अगाडि लिन सकेमात्रै एमाले अघि बढ्ने उनले बताउनुभयो।

यस्तै, नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले पार्टीको १० औँ महाधिवेशनले लिएको नीति अनुसार पार्टीले गति लिन नसकेको बताउनुभयो ।

पार्टीको अवस्था राम्रो हुँदा–हुँदै पनि नतिजा सोचेजस्तो नआएको बताउँदै उनले प्रशिक्षण, विचार, सिद्धान्त र दर्शन तल जनतासम्म पुर्याउनुपर्ने बताउनुभयो ।
‘हाम्रो व्यवहार राम्रो छैन, हामी अनुशासित हुनुपर्छ,’ उहाँले भन्नुभयो।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रम बुधबारदेखि ३१ असारसम्म चल्नेछ। कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका ५० भन्दा बढी नेताहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया