कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात

कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात

                                                                                                      फाइल तस्बिर

सल्यान –  कर्णाली प्रदेशमा सधैँ खाद्यान्नको अभाव हुने गर्दछ। मागभन्दा कम उत्पादन हुँदा कर्णालीवासीले वर्षेनि खाद्यान्नको अभाव झेल्दै आइरहेका छन्।

कर्णालीका सल्यान, रुकुम पश्चिम, सुर्खेत र दैलेख बाहेकका अन्य जिल्लामा उत्पादन भएको खाद्यान्नले वर्ष दिन खान पुग्दैन तर यो वर्ष कर्णालीमा खाद्यान्नको अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न गोदाममा मौज्दात छ।

प्रादेशिक कार्यालयका प्रमुख मानव मिश्रका अनुसार हुम्लामा ४ सय, जुम्लामा ८८०, मुगुमा १ हजार ३००, जाजरकोटमा १ हजार २००, कालिकोटमा ४००, दैलेखमा ५००, डोल्पामा ४ हजार र सुर्खेतमा ३ हजार ५ सय क्विन्टल चामल गोदाममा रहेको उनको भनाइ छ।

साउन महिनाबाट थप चामल विभिन्न जिल्लामा पठाउने तयारी गरिएको उनको भनाइ छ। कर्णालीका ६ जिल्लामा अनुदानको चामल ढुवानी गर्दा ८ करोड १४ लाख ५२ हजार लाग्ने गरेको छ। भौगोलिक विकटताका कारण कर्णालीमा खाद्यान्न खरिदभन्दा ढुवानी खर्च बढी हुने गरेको छ।

कर्णालीका सल्यान, रुकुम पश्चिम, सुर्खेत र दैलेख खाद्यान्न आत्मनिर्भर जिल्लाका रूपमा रहेका छन्। कर्णालीको सल्यानमा सबैभन्दा धेरै खाद्यान्न मौज्दात हुने गरेको छ।

सल्यानमा मात्र वार्षिक १३ हजार ९९६ मेट्रिक टन खाद्यान्न मौज्दात हुने गरेको छ। कर्णालीमा वार्षिक २३ हजार ४२० मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ।

 

प्रतिक्रिया