बागचौर नगरपालिकाको आफ्नै निशान छाप
सल्यान – सल्यानको बागचौर नगरपालिकाले आफ्नै निशान छाप प्रयोगमा ल्याएको छ । नगरको पहिचान झल्किने गरी निशान छाप निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नेपाल सरकारको निशान छापसँगै आफ्नै छुट्टै भौगोलिक पहिचान झल्कने छाप निर्माण गरेको नगर प्रमुख जनकराज गौतमले बताउनुभयो ।
निशान छापमा बागचौर नगरपालिकाको पहिचान झल्कने लालीगुराँस, लेक, आलु, सुन्तला खेती, स्थानीय घर, बजार, पशुपालन, मठमन्दिर, स्थानीय रूपमा उत्पादन हुने धान, मकै गहुँ, पानी घट्ट, शारदा नदीको मुहान समावेश गरिएको छ । यस्तै हिमाल, किसान, नगरपालिकाले निर्माण गरेको भ्यु टावर, झोलुङ्गे पुल, मादल, दमाहा, सहनाई जस्ता बाजा, चन्द्र सूर्य अङ्कित नेपालको झन्डा, नगरपालिकाको नक्सा, दलित र मगर समुदायको प्रतिनिधित्व हुने भेसभुसा सहितको तस्बिर पनि छापमा समावेश गरिएको छ ।
समृद्धिका आधार कृषि, पर्यटन भएकाले नगरको भौगोलिकताका विविध पक्ष समेटेर निशान छाप बनाइएको नगरपालिकाले जनाएको छ ।-सल्यानखबर
प्रतिक्रिया