पहिले औषधी उपचारमा विश्वास नगर्ने राउटे समुदाय अहिले औषधी उपचार गर्दै

पहिले औषधी उपचारमा विश्वास नगर्ने राउटे समुदाय अहिले औषधी उपचार गर्दै

सुर्खेत –    कुनै समय थियो, जस्तो सुकै विरामी पर्दा पनि राउटे समुदाय जंगलमै पाइने जडिबुटीबाट उपचार गर्थे । सामान्य देखि गम्भिर बिरामी पर्दा होस वा चोटपटक लाग्दा राउटेहरु उपचारका लागि जंगलकै जडीबुटी प्रयोग गर्थे ।

हरेक राउटे महिला जीवन जोखिममा राखेर बच्चा जन्माउँथे, परिआयो भने जीवन नै गुमाउँथे, त्यो पनि जंगलमै । वनजंगलमा जीवनयापन गर्दै आएका यो समुदायमा स्वास्थ्य चौकी, अस्पताल होस या मेडिकलमा उपचार गर्न जान डराउथे । नेपाल सरकारले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाहरुलाई भत्ताको व्यवस्था गरेपछि गैर राउटे स्वास्थ्य संस्थामा सुरक्षित बच्चा जन्माउन थाले पनि राउटे समुदायका महिलाहरु अझै पनि स्वास्थ्य संस्था जादैनन् ।

नेपालको सम्पदा मानिने दक्षिण एशियाको एक मात्र भ्रमणशिल जाति राउटे समुदाय पछिल्लो समय संकटमा छ । पहिले पहिले चोटपटक लागे र बिरामी भए संस्था संस्था नसम्झेर जडीबुटि र झारफुककै भर पर्ने यो समुदाय औषधी उपचारमा विश्वास गर्न थालेको छ । पछिल्लो समय यो समुदाय सानो चोटपटक लाग्ने बित्तिकै स्वास्थ्यकर्मी खोज्ने गरेको सोसेक नेपालद्धारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत अहेब बिनोद कुमार बिसी बताउनुहुन्छ ।

प्रसुती गराउन स्वास्थ्य संस्थामा नगएपनि पछिल्लो समय यो समुदाय औषधीको विश्वास गर्न थालेका छन् । सधै जंगलको जडीबुटीमा विश्वास गर्ने यो समुदाय भने पछिल्लो समय औषधीको उपचारमा विश्वास गर्न थालेका छन् । केही समय अघि राउटे समुदायका युवा गोबिन्द बहादुर शाही र खगेन्द्र शाही जंगलमा काठ काट्दै गर्दा घाइते हुनुभयो । घाइते भएर बस्तिमा पुगेपछि स्वास्थ्यकमीलाई आफ्नो समस्या देखाउदै स्वास्थ्यकर्मीबाट उपचार लिए । केही बर्ष अगाडी महिनबहादुर शाहीकी पत्नी दुनी शाहीको खुट्टा क्यान्सर भएको थियो ।

काठमाण्डौं गएर खुट्टाको अप्रेशन गरेपछि आजभोली ठम्म ठम्म हिड्दै गाउँ डुल्ने गरेको महामुखिया शाहीले बताउनुभयो । मेरो बुढीको उपचार काठमाण्डौका गुप्तबहादुर श्रेष्ठ डाक्टर सापले गर्नुभएको हो, पैसा लिनु भएन, निशुल्क उपचार गरिदिनुभयो, आजभोली सञ्चो छ, हिडडुल गर्न सक्छ, शाहीले भन्नुभयो । बस्तीमा बुझेकाले औषधी गर्छन । कोहीले घाउ दुख्ने डरले औषधी उपचार गर्न मान्दैनन् । उहाँले भन्नुभयो ।

उपचारमा स्वास्थ्य संस्थामा नगएपनि बस्तीमा उपचार गर्न आउँदा सजिलै स्वीकार गर्ने गरेको राउटे समुदायमा कार्यरत जोडि शिक्षक लाल बहादुर खड्का बताउनुहुन्छ । पहिले राउटे औषधी उपचार गर्न मान्दैन थिए । सोसेक नेपालले राउटे परियेजना संचालन गरेर स्वास्थ्यकर्मी बस्तिमै खटाएपछि औषधी उपचार गर्नेको संख्या बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

 

प्रतिक्रिया