चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन
सिमकोट – सीमा सुरक्षा बलले चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन गरेको छ।
हिल्सास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बीओपी)ले नेपाल–चीन सीमाना टाकुलेस्थित ११ नम्बर सीमा स्तम्भको अनुगमन गरेको हो।
उच्च क्षेत्रमा रहेको उक्त सीमा स्तम्भ आसपासको हिउँ पग्लेपछि बीओपीको टोली पुगेको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरसिंह धामीले बताउनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक नेतृत्वको टोली बिहान ६ बजे हिल्साबाट गएर टाकुलेमा पुगेर सीमा स्तम्भको अनुगमन गरेर बेलुका फर्किएको थियो।
टोलीले ११ नम्बर सीमा स्तम्भसहित दार्चुला क्षेत्रमा पर्ने पाँच नम्बर र लिमीको लाप्चामा पर्ने १२ नम्बर सीमा स्तम्भको पनि अनुगमन गरेको छ।-देश सञ्चार
प्रतिक्रिया