४ महिनामा यातायात कार्यालय चौरजहारीले उठायो ४० लाख राजस्व

४ महिनामा यातायात कार्यालय चौरजहारीले उठायो ४० लाख राजस्व

रुकुम पश्चिम-   रुकुम पश्चिमको चौरजहारी यातायात व्यवस्था सेवा कार्यालयले सेवा आरम्भ गरेको ४ महिनाको अवधिमा झण्डै ४० लाख राजस्व उठाएको छ । कार्यालयले गत फागुन २१ गतेदेखि सेवा आरम्भ गरेको थियो । त्यो बेला देखि असार मसान्तसम्म ३९ लाख ८९ हजार ६ सय ८५ रुपैयाँ राजस्व संकलन भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले बताउनुभयो ।

उहाँका अनुसार सवारी साधन कर, नविकरण र सवारी चालक अनुमति पत्र लाइसेन्स नविकरण वापत उक्त राजस्व संकलन भएको हो । सेवा आरम्भ गरेको छोटो समयमै राम्रो राजस्व उठेको उहाँको भनाई छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा राजस्व कम रहेको उहाँले बताउनुभयो । अव सेवा विस्तार हुँदै गएमा राजस्व संकलन पनि बढ्दै जाने उहाँले बताउनुभयो ।

कार्यालयबाट सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणको प्रक्रिया समेत अघि बढेको छ । कार्यालयले लाइसेन्सका लागि सोमबार देखि अनलाइन फारम खुला गरिसकेको छ । कार्यालयले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो ।

कर्मचारी अभाव लगायतका कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले सवारी दर्ता, नामसारी, कर असुल, ब्लुबुक नविकरण लगायतका सेवा दिइरहेको छ ।

प्रतिक्रिया