स्वास्थ्यकर्मीद्धारा अनिश्चितकालिन धर्ना कार्यक्रम घोषणा

स्वास्थ्यकर्मीद्धारा अनिश्चितकालिन धर्ना कार्यक्रम घोषणा

रुकुम पश्चिम-   रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा समायोजन मिलान भएका स्वास्थ्यकर्मीहरुले पालिकामा अनिश्चितकालका लागि धर्ना कार्यक्रम घोषणा गरेका छन् ।

गाउँकार्यपालिकाको बैठकले साउन ४ गते दरबन्दी भन्दा बढी भएका अर्थात फाजिलमा रहेका स्वास्थ्यका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णय विरुद्ध समायोजन भएका स्वास्थ्यकर्मीहरुले पालिकामा अनिश्चितकालका लागि धर्ना कार्यक्रम घोषणा गरेका हुन् ।

पालिकाले स्वास्थ्यकर्मीलाई फिर्ता पठाउने निर्णय गर्नु गलत र विभेदकारी भएको आरोप उनीहरुको छ । आफुहरु गाउँपालिकामा दोहोरो सहमतिका आधारमा कर्मचारी समायोजन कार्यविधि ऐन २०७७ बमोजिम समायोजन मिलान गरी आएकोले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्रलाई गलत ढङ्गले अर्थ लगाई पालिकाले फिर्ता गर्न खोजिएको स्वास्थ्यकर्मी दिनेश विष्टले बताउनुभयो ।

सुरुमा समायोजन हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गाउँपालिकाको समन्वयमा आएकाले आफुहरुको कुुनै दोष नभएको उहाँको भनाई छ । सुरुमा समायोजन हुँदा बोलाउने र अहिले फिर्ता गर्न खोज्जु गलत भएको उनीहरुको भनाई छ । गाउँपालिकाले दीर्घकालिन समस्याको समाधान नगरी कामकाजमा नलगाएसम्म धर्ना कार्यक्रम नरोकिने उनीहरुको भनाई छ ।

मन्त्रालयले दरबन्दी भन्दा बढी भएका कर्मचारीको तलब भत्ता पठाउन कडाई गरेपछि समस्या भएकोले यस्तो निर्णय गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले बताउनुभयो । वितेको आर्थिक वर्षको अन्तिम समयमा मात्र मन्त्रालयले तलब पठाएको थियो । गतवर्ष लामो समयसम्म तलब नआउदा स्वास्थ्यकर्मीले नियमित तलब पाउन सकेका थिएनन् ।

कार्यपालिकाले फाजिलका कर्मचारी फिर्ता गर्ने निर्णयसंगै मन्त्रालयसंग बजेटको सुनिश्चितता खोज्ने निर्णय पनि गरेको थियो । सोही अनुसार आज दरबन्दी भन्दा बढी रहेका स्वास्थ्यकर्मीको यो वर्षको तलब सुनिश्चितता बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउन लागेको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाई छ । यदी मन्त्रालयबाट बजेट आउने सुनिश्चित भयो भने कर्मचारी फिर्ता नगर्ने उहाँले बताउनुभयो ।

त्यस्तै मन्त्रालयले आज फाजिलका स्वास्थ्यकर्मी सम्बन्धमा पत्राचार गरेकोले त्यसका आधारमा पनि के गर्ने भनेर छलफल हुने बताउनुभयो । गाउँपालिकामा २२ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । तर अहिले दरबन्दी भन्दा १६ जना बढी स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । जसमा एक जना काजमा कार्यरत छन् भने बाँकी १५ जना कर्मचारी समायोजन कार्यविधि ऐन २०७७ बमोजिम समायोजन मिलान गरी आएका हुन् ।

उनीहरु गाउँपालिका अस्पताल तथा गाउँपालिकाले स्वास्थ्य संस्था नभएका वडामा स्थापना गरेका आधारभूत स्वास्थ्य इकाई लगायतका स्वास्थ्य संस्थामा कार्यरत रहेका छन् ।-कखरा

प्रतिक्रिया