दैलेख जेसीजको अध्यक्षमा प्रकाश बुढा

दैलेख जेसीजको अध्यक्षमा प्रकाश बुढा

दैलेख – सन् २०२४ का लागि दैलेख जेसीजको अध्यक्षमा प्रकाश बुढाले पदभार लिनुभएको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको समाजसेवी संस्था दैलेख जेसीजका आवद्ध युवाहरुले सर्वसम्मतीमा उहाँलाई चयन गरिएको थियो । शनिबार दैलेखमा आयोजित कार्यक्रममा उहाँले पदीय जिम्मेबारी लिनुभएको हो । 

१२ सदस्यीय दैलेख जेसीजका निवर्तमान अध्यक्ष भीबहादुर सिजापति, कार्यकारिणी उपाध्यक्षहरुद्वय लोकेश गिरी, हिक्मत बुढा, कानूनी सल्लाहकार टोपेन्द्र थापा, महासचिव भीमबहादुर थापा, कोषाध्यक्ष प्रतिमा खड्का, उपाध्यक्षहरु बिशाल योगी, अस्मित सिजापति, बिष्णु कोइराला, यज्ञबहादुर कार्की र सचिब हरि थापा चयन हुनुभएको छ । 

युवाहरुलाई व्यक्तित्वको विकासको प्रोत्साहित गर्दैै नेतृत्व क्षमता विकासमा सहयोग पु¥याउदै आएको दैलेख जेसीज सन् १९९७ देखि सुरु भएको थियो । अंग्रेजी सम्वत अनुसार हरेक वर्ष नयाँ नेतृत्व चयन गर्ने प्रणाली अनुसार नव निर्वाचित अधयक्ष प्रकाश बुढा दैलेख जेसीजको २७ औं अध्यक्ष हुनुहुन्छ । 

पद हस्तान्तरण कार्यक्रमको अध्यक्षता गरिरहनुभएका सन् २०२३ का अध्यक्ष भीमबहादुर सिजापतिको गलाको ‘चेन’ माला दैलेख जेसीजका पूर्व अध्यक्षहरुले सन् २०२४ का अध्यक्ष प्रकाश बुढाको गलामा पहिराइदिनुभएपछि सभाध्यक्षको आसनमा प्रकाश बुढालाई बसालिएको थियो । 

सभा चलिरहेको बेला नयाँ अध्यक्ष बदलिएपछि जेसीजको पद हस्तान्तरण कार्यक्रमका अतिथिहरुको आसन ग्रहण दोहो¥याएर गराइएको थियो । यतिसम्म कि सभा पुनः सुरु भएको मानेर सभामा सहभागी सबैले नेपालको राष्ट्रिय गान पनि दोहो¥याएर गाएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि नारायण नगरपालिका मेयर लोमन शर्माले बढ्दो लागूऔषध दुव्र्यसनी, अनुशासनहीनताको अवस्थामा युवाहरुलाई सत्मार्गमा प्रेरित गर्न जेसीजको अग्रसरता आग्रह गर्दै त्यस्ता रचनात्मक कामको प्रस्ताव ल्याए नगरपालिकाले सहयोग गर्ने बचन दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश कोइराला, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी रेशमबहादुर बुढा समेतले जेसीजको अनुशासन र पद्धति युवाहरुलाई राम्रो काम गर्न प्रेरित गरेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष बुढाले सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभयो ।     


 

प्रतिक्रिया