सुजनकी दिदी कम्प्यूटर अप्रेटरमा नियुक्त

सुजनकी दिदी कम्प्यूटर अप्रेटरमा नियुक्त

दैलेख – बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको परिवारका एक जना सदस्यलाई नेपाल सरकारले रोजगारी दिने भनी गरेको प्रतिवद्धता अनुुसार सुजनकी दिदी झरना रावतलाई रोजगारी दिइएको छ । 

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको समन्वयमा नारायण नगरपालिकामा राष्ट्रिय परिचयपत्र अन्तरगत कम्प्यूटर अप्रेटरमा नियुक्त गरिएको जानकारी प्राप्त भएको छ । 

सीडीओ सा’वले पनि भनिरहनुभएको थियो, गृहमन्त्रीज्यूले पनि फोन गर्नुभयो । हामी कहाँ कम्प्यूटर अप्रेटरको दरबन्दी भरखरै आएको मौकामा सुजनकी दिदीलाई नियुक्त गरिएको नारायण नगरपालिकाका मेयर लोमन शर्माले जानकारी दिनुभयो । 

गृह मन्त्रालयको पञ्जीकरण विभाग अन्तरगत पालिकामा गरिने राष्ट्रिय परिचयपत्र सम्वन्धी काम गर्न हालै प्राप्त भएको कम्प्यूटर अप्रेटर दरबन्दीमा नियुक्ति दिएर नारायण नगरपालिकाले नेपाल सरकारले पीडित परिवारहरुसंग गरेको लिखित सहमती कार्यान्वयन गराएकोमा प्रमुख जिल्ला अधिकारी भुसालले धन्यवाद दिनुभयो । 

सुजनको परिवारलाई यसअघि संघीय सरकारले १० लाख, कर्णाली प्रदेश सरकारले दुई लाख रुपैंयाँ, मृतकको स्थायी ठेगाना जनिएको दैलेखको महाबु गाउँपालिकाले ५० हजार राहत सहयोग प्रदान गरेको थियो । 

पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको इपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका बीरेन्द्र शाहको ज्यान गएको थियो ।

मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति मृतक युवाहरुलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतक परिवारका एक–एक जना सदस्यलाई रोजगारी दिने र उचित राहत सहयोग दिने सहमति भएको थियो ।
 

प्रतिक्रिया