विपद्बाट बच्न सचेतता र सक्रियता आवश्यक

विपद्बाट बच्न सचेतता र सक्रियता आवश्यक

ललितपुर -  ललितपुरको बुङ्मतीमा आयोजित संयुक्त विपद् प्रतिकार्य अभ्यासमा विपद्बाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् । 

गोरखा बारपाक  केन्द्रविन्दु बनाएर भूकम्प गएको दिनको सम्झनामा ललितपुर महानगरपालिकाको आयोजना तथा राजदल गण लगनखेल, सशस्त्र प्रहरी बल नेपाल २१ नं हेटक्वार्टर दक्षिणकाली ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा आयोजित कार्यक्रममा विपद् र महामारीबाट बच्न र बचाउन पूर्वतयारी, सचेतता र सहकार्यमा विपद् प्रतिकार्यको अभ्यास अति जरुरी रहेकोमा वक्ता तथा अभ्यासकर्ताले बताउनुभयो । 

संयुक्त विपद् प्रतिकार्य अभ्यासपश्चात मन्तव्य राख्नुहुँदै ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य विपद् खबर गरेर आउँदैन भन्दै सुरक्षित हुन प्रतिकार्य अभ्यास गरेको उल्लेख गर्नुभयो । उहाँले ललितपुर महानगर विपद्मा जस्तोसुकै काम गर्न सक्षम रहेको बताउनुभयो ।  

“आजको यो अभ्यासमा सबैले राम्रोसँग प्रदर्शनी गर्नुभयो । विसं २०७२ को भूकम्पमा स्थानीयको सहयोग, समन्वय र अभ्यासले उद्धार सफल भएको थियो । तर विपद् नआओस्, आइहाल्यो भने पनि  विपद्को क्षतिबाट बच्न स्थानीय युवालाई तालिम दिएर तयारी अवस्थामा राख्नुपर्छ । विपद्बाट बच्न एकता आवश्यक छ”, उपप्रमुख बज्राचार्यले भन्नुभयो । उहाँले दुर्घटना हुँदा परम्परागतभन्दा पनि आधुनिक प्रविधि र व्यावहारिक सीपको उपयोग गरेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले अकास्मात् आउने भूकम्प, बाढीपहिरो, हावाहुरीजस्ता महामारीबाट हुने हानी, जनधनको क्षति, समस्या र घटनाबाट जोगिन सचेत रहनुपर्ने बताउनुभयो । उहाँले पूर्वतयारीले नै विपद्मा आफू र अरुलाई सुरक्षित राख्न सकिने बताउँदै यसका लागि स्थानीय नागरिक समाज, सङ्घसंस्था र सरकारी कार्यालयले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

महानगरका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेले धनजन, मानवीय क्षति नहोस् भनेर सचेतना जगाउनका लागि संयुक्त अभ्यासमार्फत नागरिक सचेतनालाई महानगरले जोड दिँदै आएको बताउनुभयो । सानो गल्तीले गर्दा धेरै धनजन र मानवीय क्षति हुने हुँदा क्षति र जोखिमबाट बचाउन विपद् प्रतिकार्य अभ्यास र अभिमुखीकरण कार्यक्रमलाई  प्राथमिकतामा राखिँदै आएको जानकारी गराउनुभयो ।

वडा नं २२ का अध्यक्ष सागर तुलाधरले सो भूकम्पले बुङ्मतीका सात सयवटा घर पूर्ण क्षति भएको स्मरण गर्नुहुँदै सामान्य दुर्घटनाले पनि हुनसक्ने ठूलो क्षति रोक्न सहकार्य, एकता र सामूहिक भावनाले क्रियाशील हुनुपर्ने बताउनुभयो । 

संयुक्त विपद् प्रतिकार्य अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ललितपुर महानगर प्रहरी, नेपाल स्काउट र स्वास्थ्यकर्मीले प्रतिकार्य अभ्यास, खोज, उद्धार तथा प्राथमिक उपचारको अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया