सुन सरकार !

सुन सरकार !

–  दिनेश थापा (परिर्वतन )
दैलेख । 

देशको हालत झन् झन् बिग्रँदै छ,
सधैं सगरमाथा चढ्ने आँट गर्नुपर्ने सरकार,
तर, सधैं नाम्चे बजारमै हराइरहन्छ।

सरकार बदलिन्छ फेरि फेरि,
तर देशको मुहार कहिल्यै फेरिदैन।
चुनावी बेला मात्रै जनतालाई सम्झनेहरू,
आज बिचलित जनतालाई आफ्नो कहिले बनाउने?

सडकमा सबै कराइरहेका छन्,
अभावमा हराइरहेका छन्।
परिवार नै पराइ भएका छन्,
यो रहर हो कि बाध्यता — सरकार जवाफ देऊ!

साधारण जनताको सन्तान,
जन्मिँदै बिदेशको सपना बोकेर हिँड्छ,
नेताका सन्तान चाहिँ,
जनताको पसिनाको मूल्य खोस्दै रमाउँछन्।

समानताको हक खोइ?
रोजगारीको हक खोइ?
गरिब जनता किन सधैं दमनमा?
के सम्मानपूर्वक बाँच्न नपाउने हो?

स्वतन्त्रताको हक खोइ सरकार?
९८ प्रकारका औषधि निःशुल्क भन्नु कहाँ हरायो?
स्वास्थ्य सम्बन्धी हक संविधानमा मात्रै सीमित?

आमा छोरोलाई बिदेश पठाउँदा,
किन चुपचाप रुन्छिन् साहाराविहीन?
छोरो रहरले हो त बिदेश गएको?
सरकार, रोक्न सक्छौ भने रोक, होइन भने चुप बस!

बिदेशिएको छोरो बाकसमा फर्किँदा,
के आमा हाँस्छिन् त?
के बाबुको हृदय रुन्दैन त?
नेताज्यू, कहिले आफ्ना र पराइ सन्तान बीचको भेद देख्ने?

भोक, नांगोपन, अभाव...
यिनैमा जन्मिन्छन् बालकहरू,
अभावमै मर्छन्, चिसो आकाशमुनि।

किन आत्महत्या गर्नुपर्छ नेपालीलाई?
किन अकालमै ज्यान गुमाउनु पर्छ?
किन सधैं ठगिनु पर्छ?

दुख सुनाइको घडी कहिलेसम्म?
ए सरकार, किन हरेक घाउमा लाचार छौं?
के तिमीहरूका आँखै छैनन्?
आँखा छैनन् भने किन सरकारमा बस्यौ?

प्रतिक्रिया