लालिकाडा पूर्ण साक्षर गाविस घोषणा

लालिकाडा पूर्ण साक्षर गाविस घोषणा

निर्मल अधिकारी
दैलेख जिल्लाको पूर्वि क्षेत्रमा पर्ने लालिकाडा गाविसले एक कार्यक्रमको आयोजना गरि पूर्णसाक्षर गाविस घोषणा गरेको छ । साथै उक्त कार्यक्रममा अनिवार्य तथा आधारभूत शिक्षा, पूर्ण खोप, धुवा रहित चुलो र विद्यालय शान्ति क्षेत्र गाविस पनि घोषणा गरियको थियो ।

आफ्नो भनाई राख्दै स्थानीय राजनैतिक दलका नेता खेमराज वली
आफ्नो भनाई राख्दै स्थानीय राजनैतिक दलका नेता खेमराज वली
घोषणा सभामा शैक्षिक अवस्था प्रस्तुत गर्दै विद्यालय श्रोत व्यक्ति दिपेन्द्र कुमार वि.सी.
घोषणा सभामा शैक्षिक अवस्था प्रस्तुत गर्दै विद्यालय श्रोत व्यक्ति दिपेन्द्र कुमार वि.सी.
पूर्ण साक्षर गाविस घोषणा सभाका सहभागी
पूर्ण साक्षर गाविस घोषणा सभाका सहभागी

मानव चेतनाको विकास नभै संसारको विकास नहुने र जुन शिक्षाबाट मात्रै प्राप्त गर्न सकिने भएको हुदाँ पूर्ण साक्षर गाविस घोषण गर्नुपर्ने आवश्यकता भएको कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारी ले बताए । उनले थपे, गाविस घोषणा मात्रै नभएर यसको कार्यान्वयनमा पनि जोड दिन आबश्यक छ ।
नेपालको संविधान र जिल्लास्तरीय नीतिले आधारभूत शिक्षा प्राप्त गर्ने हकलाई सुनिश्चित गरेको विद्यालय श्रोत व्यक्ति दिपेन्द्रकुमार वि.सी.को भनाई थियो । राष्ट्रिय जनगणना २०६८ का अनुसार यस गाविसको साक्षरता प्रतिशत ६८.४९ रहेकोमा शिक्षा क्षेत्रमा कार्यरत सबैको अथक प्रयासबाट उक्त साक्षरता दरमा बृद्धि भई ९५.०४ प्रतिशत पुगेको वि.सी.ले बताए । उनले थपे, गाविसमा १० आधारभूत विद्यालय र ९ वालविकास केन्द्र रहेका छन् । गाविसमा अझै पनि १ सय ३० जना निरक्षर रहेको उनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालमा २०३४ सालमा विफर उन्मुलन भएपछि स्वास्थ्य सेवासँग सम्बन्धित खोप सेवा आयोजनाको रुपमा शुरुवात भएको स्वास्थ्य चौकी इन्चार्ज चक्र के.सी.ले बताए । उनले थपे, अहिले जिल्लाको ग्रामिण क्षेत्रका स्वास्थ्य चौकीहरुमा पनि हेपाटाइटीस बी, हेमोल्निस, इन्फलुएन्जा, जापानी इन्सेफलाटीस विरुद्धका खोपहरु उपलब्ध हुने गरेका छन् । बाल तथा मातृमृत्यु दर, खोपजन्य रोगहरुबाट हुने अपाङ्गता र बाल तथा मातृ रोगदर घटाउने उद्धेश्यका साथ नवजाजत शिशुको लागि खोप सेवा सञ्चालन गरिएको के.सी. भनाई थियो । स्थानीयस्तरमा गरेको सर्वेक्षणका आधारमा सेवा क्षेत्रका सबै वालवालिकाले खोप सेवा उपलब्ध गरेको हुदा यस गाविसलाई पूर्ण खोप गाविस घोषण गरिएको उनले बताए ।
गाविसका सबै घर धुरीमा आधुनिक चुलो बनिसकेको हुदा गाविसलाई पूर्ण धुवामुक्त गाविस घोषणा गरिएको महिला सहकारीका अध्यक्ष गंगा डाँगीले बताईन । उनले थपिन, महिला तथा वालवालिकाको स्वास्थ्यमा गम्भिर असर गर्ने धुवायुक्त चुलाहरु अहिले विस्थापित भएका छन् । आधुनिक चुलोले घरमा धुवा नलाग्ने, वालवालिका तथा बृद्धहरु स्वास प्रस्वासका रोगहरुबाट बञ्चित हुने, दाउरा कम खपत, वातावरण सुधार, खाना छिटो पाक्ने लगायतका फाईदा हुने भएपछि उक्त चुलोप्रति महिलाहरु लोभिएका डाँगीको भनाई थियो । ग्रामिण क्षेत्रका सबै घरधुरी धुवारहित चुलो निर्माण गर्ने नेपाल सरकारको कार्यक्रम पनि रहेको छ ।
विद्यालयलाई पूर्ण साक्षर गाविस घोषणा गरेपनि विद्यालयका समस्याहरु यथावतनै रहेको स्थानीय नेता खेमराज वलीको भनाई थियो । उनले थपे, विद्यालयमा भवन छैनन्, पर्याप्त शिक्षक दरवन्दिको अभाव छ र सबै विद्यालयमा खानेपानीको सुविधा पुग्न सकेको छैन् । यस्ता दुर्गम गाविसका समस्याको समाधानका लागि सम्बन्धित निकाय जिम्मेवार वनिदिन वलीले अनुरोध गरेका थिए ।
गाउ शिक्षा समिति एवंम् गाविस सचिव मोहन कुमार वस्नेतको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा जिल्ला तथा स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्वास्थ्य र आधा दर्जन बढी संघसंस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेखको आथिक सहयोगमा सञ्चालित घोषणा कार्यक्रममा आयोजकले महिला स्वास्थ्य स्वयंसेवीका लगायत साक्षर गाविस घोषणा गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानित गरेका थिए ।

प्रतिक्रिया