सूचना नलुकाउने प्रतिवद्धता
दैलेख, असाढ ९ । जिल्लास्थित सबै कार्यालय प्रमुखले सूचना नलुकाउने प्रतिवद्धता गरेका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलगायत जिल्लास्थित कार्यालय प्रमुखहरुले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाको रोहवरमा प्रतिवद्धता गरेका हुन् ।
सूचनाको हक सम्बन्धि ऐन २०६४ ले आम नागरिकको सूचनामाथि अधिकारी सुश्चित गरे पनि सार्वजनिक निकायले सूचना लुकाउने गरेको गुनासो भइरहेका बेला जिल्लास्थित कार्यालय प्रमुखले सूचना सार्वजनिक गर्ने प्रतिवद्धता गरेपछि सूचनामा नागरिकको पहुँच बढ्ने सरोकारवालाको विश्वास छ । प्रमुख आयुक्त बाँस्कोटाले सूचना लुकाउनेमाथि कारबाही हुने भन्दै सूचना प्रवाहलाई सरल बनाउन कार्यालय प्रमुखलाई निर्देशनसमेत दिए । प्रदेश नम्बर ६ का जनप्रतिनिधिलाई तालिम दिन सुर्खेत आएका प्रमुख आयुक्त बाँस्कोटा छोटो समयका लागि शुक्रबार दैलेख आएका थिए । उनले सूचनाको हक सम्बन्धि ऐनबारे जानकारी दिँदै सूचनाको हक लोकतन्त्रको मेरुदण्ड भएको बताए । उनले सूचना लुकाउनेमाथि आयोगले कारबाही गर्ने चेतावी समेत दिए । उनले सूचना प्रवाहका विभिन्न माध्यमको प्रयोग गर्नसमेत निर्देशन दिए ।
प्रजिअ अधिकारीले जिल्लामा सहज सूचना पहुँचका लागि वेब साइट बनाइएको भन्दै कार्यालय प्रमुख र सूचना अधिकारीको बैठकमा त्यसलाई व्यवस्थित बनाउने निर्णय भएको बताए । उनले जिल्ला प्रशासन कार्यालयले राहदानी बनेको सूचना सेवाग्राहीलाई एसएमएसमाफर्त दिँदै आएको बताए । उनले सेवाग्राहीलाई सन्तुष्ट बनाउन र सुशासन कायम गर्न सूचना प्रवाह हुनुपर्ने बताए । उनले सूचनाको हक आम नागरिकले उपभोग गर्न पाउनुपर्ने भन्दै त्यसका लागि सार्वजनिक निकायले छुट्टै सूचना अधिकारी र सूचना कक्षको स्थापना गर्नुपर्नेसमेत बताए । उनले कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरिए पनि उनीहरुलाई तालिम दिन नसक्दा सूचना प्रवाहमा समस्या भएकोसमेत स्वीकार गरे ।
प्रतिक्रिया