सेरीलाई पूर्ण साक्षर, अनिवार्य आधारभुत शिक्षा, विद्यालय शान्ति क्षेत्र, सतप्रतिशत जन्मदर्ता, सतप्रतिशत सुरक्षित संस्थागत सुत्केरी गाविस घोषणा

सेरीलाई पूर्ण साक्षर, अनिवार्य आधारभुत शिक्षा, विद्यालय शान्ति क्षेत्र, सतप्रतिशत जन्मदर्ता, सतप्रतिशत सुरक्षित संस्थागत सुत्केरी गाविस घोषणा

दैलेख, कात्तिक ३० । दैलेखको सेरी गाविस पूर्ण साक्षर गाविस घोषणा भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका १५३३ जना मध्ये १४७८ जना साक्षर रहेको सो गाविसलाई सोमबार एक विशेष कार्यक्रमकाबीच जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले पूर्ण साक्षर, अनिवार्य आधारभुत शिक्षा, विद्यालय शान्ति क्षेत्र, सतप्रतिशत जन्मदर्ता, सतप्रतिशत सुरक्षित संस्थागत सुत्केरी गाविस घोषणा गरेका छन् । seri
सेरीलाई अनिवार्य आधारभुत शिक्षा, विद्यालय शान्ति क्षेत्र, सतप्रतिशत जन्मदर्ता, सतप्रतिशत सुरक्षित संस्थागत सुत्केरी गाविससमेत घोषणा गरिएको छ । सो गाविसमा जन्मदर्ता, संस्थागत सुत्केरी सत प्रतिशत रहेको गाविस सचिब दुर्गबहादुर विकले बताए । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले साक्षर, संस्थागत सुत्केरी, विद्यालय शान्ति क्षेत्रलगायतका कामका लागि सहयोग गरेको थियो ।
कार्यक्रममा जिशिअ अधिकारीले गाविसलाई पूर्ण साक्षर घोषणा गर्नु ठूलो उपलब्धी भएको भन्दै यो उपलब्धी जोगाई राख्न हरेक बालबालिका अव विद्यालयभन्दा बाहिर नरहने वातावरण बनाउनु पर्ने बताए । उनले अभिभावक तथा शिक्षकको भूमिका राम्रो भए गाविसको अवस्था निकै माथि हुने बताए । यस्तै जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शम्शेर शाहीले सेरी गाविस साक्षर घोषणा भएकोमा शुभकामना दिँदै यसलाई दिगो बनाउनुपर्ने बताए ।
कार्यक्रममा सोसेसका संस्थापक अध्यक्ष हीरासिंह थापाले बालबिबाहबारे बोल्दै बालबिबाह गैरकानुनी भएको बताए । उनले बालबिबाह नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले सेरीलाई आगामी दिनमा बालबिबाह मुक्त गाविस बनाउनुपर्ने बताए ।

प्रतिक्रिया