मुसहर वस्ती हस्तान्तरण गर्ने दिन फिल्म बनाउन शुरु गर्ने धुर्मुस–सुन्तलीको योजना

मुसहर वस्ती हस्तान्तरण गर्ने दिन फिल्म बनाउन शुरु गर्ने धुर्मुस–सुन्तलीको योजना

काठमाडौं, २३ पुस–हास्य कलाकार धुर्मुस (सिताराम कट्टेल) लाई उनको वास्तविक नाममा चिन्ने दर्शक कमै छन् । ‘मेरी बास्सै’ नामक टेलिश्रृखलामा अभिनय गर्नुपूर्व उनलाई सीमितले मात्रै थिन्थे । मेरी बास्सैमा ‘धुर्मुस’को भूमिकामा देखापरेपछि सीतारामलाई धुर्मुसको नामले चिन्नेको संख्या बढ्यो । dhurmus
दर्जनभन्दा धेरै भूमिकामा आफूलाई सफल बनाएका छन्, धुर्र्मुसले । आफ्नो मिहिनेतले नै विभिन्न भूमिकामा अभिनय गर्न सजिलो भएको उनलाई लाग्छ । भन्छन्, ‘मैले समाजका पात्रका विभिन्न भूमिकालाई पर्दामा उतार्छु । गाह्रो छ तर मिहिनेतले सफल बनाएको छ ।’
दुखद् पक्ष भन्नुपर्छ, नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मेरी बास्सै’ केही वर्षदेखि बन्द छ । यद्यपि धुर्मुसलाई दर्शकले भुलेका छैनन् । पछिल्लो समय समाजसेवामा लागिपरेका ‘धुर्मुस सुन्तली’को जोडीलाई दर्शक तथा विदेशमा बस्ने नेपालीले आर्थिक सहयोग गरिरहेका छन् ।
नेपाल टेलिभिजन र मिडिया हबबीचको आर्थिक लेनदेन नमिलेर लामो समय मेरी बास्सै लगायत अन्य केही कार्यक्रम पनि प्रसारण हुन नसकेको धुर्मुस बताउँछन् । हिन्दी च्यानलको प्रभावलाई ओझेलमा पार्दै लोकप्रिय बनेको कार्यक्रम प्रसारण हुन नसक्दा कलाकार समूहलाई ठूलो घाटा पुगेको उनको गुनासो छ । ‘अहिले मिडिया हबसँग कुरा मिलेको भन्ने सुनिएको छ, हामीले पनि मेरी बास्सै पुनः प्रसारणका लागि दबाब दिइरहेका छौं ।’ उनी भन्छन्, ‘यो महिनासम्म कुर्छौ, यदि कुरा मिलेन भने अन्य टेलिभिजन या युट्युबमार्फत मेरी बास्सै प्रसारण गर्छौैं ।’
मेरी बास्सैलाई निरन्तरता दिन नसकेको धुर्मुस सुन्तलीको जोडी भूकम्प प्रभावित गाउँ पुगेर एकीकृत नमूना बस्ती बनाउने काममा खटिएका छन् । काभ्रे र सिन्धुपाल्चोकमा धुर्मुस सुन्तली फाउण्डेसनमार्फत सहयोग संकलन गरेर एकीकृत बस्ती निर्माण तथा हस्तान्तरण गरेका धुर्मुस सुन्तली त्यसपछिको प्रतिक्रिया र आफूले पाएको ‘आत्मसन्तुष्टि’ले मुसहर बस्ती निर्माणमा जुटेका छन् ।
उनले सुन्तली (कुञ्जना घिमिरे) को साथले आफूलाई हरेक काम गर्दा साथ मिलेको बताउँछन् । यदि कुञ्जनाको साथ नपाएको भए यति लामो यात्रा गर्न सम्भव थिएन । सुन्तलीले हरेक कार्य योजनामा साथ दिइरहेको धुर्मुस बताउँछन् ।
देश दुखेको बेला एक जिम्मेवार नागरिकले समाजका लागि केही न केही सहयोग गर्नैपर्छ भन्ने लागेर नै आफू समाजसेवामा लागेको बताउँछन् धुर्मुस । सहयोग गरेको पनि नरुचाउने आफूले गर्न पनि नचाहने वर्गले पनि सकारात्मक सोचसहित समाजका लागि सहयोग गर्नुपर्ने उनको आग्रह छ । ‘नकारात्मक कुरा कहिल्यै पनि दीगो हुन सक्दैन, केही छिनका लागि आनन्द मिलेको हो,’ उनी मुस्कुराउँदै भन्छन्, ‘हामी सबैको जिन्दगीमा भोलि यस्तो दिन आउँछ, जुन दिन मैले राम्रा काम के गरेछु त भन्ने कुराको आत्म मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’
वर्तमान राजनीतिक परिस्थितिले देश नै नरहला कि भन्ने भय सृजना भएको उनी सुनाउँछन् । अहिले हामी सबैमा नेपाली हौं भन्ने भाव विकास गर्न सबैलाई आग्रह गर्छन् । भन्छन्, ‘अब हामी सबै एकजुट भएर समाजका लागि जुट्नुपर्छ ।’
महोत्तरी जिल्लाको मुसहरमा एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली लागिपरेका छन् । उनको यो कार्यका लागि सहयोग जुट्ने क्रम जारी छ । अर्कोतिर अभिनयबाट केही सुस्ताएका धुर्मुस मुसहर बस्ती निर्माणपछि चलचित्र निर्माण गर्ने योजना रहेको बताउँछन् । भन्छन्, ‘बैशाख १ मा महोत्तरीको मुसहर बस्ती हस्तान्तरण कार्यक्रममा चलचित्रको शुभमुर्हत समेत गर्ने योजना छ । अहिले चलचित्रको कथामा काम भइरहेको छ ।’ ‘तितो सत्य’ टेलिश्रृखला युनिटले हास्यव्यग्य प्रधान चलचित्र बनाएका छन् ।
करिब ४ करोड ७८ लाख लागत लाग्ने एकीकृत मुसहर बस्ती निर्माणका लागि सबै नेपालीबाट सहयोगको अपेक्षा गरेका छन् । उनी भन्छन्, ‘यो धुर्मुस सुन्तलीको योजना मात्र नभएर हामी सबैको योजना हो ।’ हिमाल, पहाड र तराईलाई एकताको सूत्रमा बाँध्नका लागि पनि बस्ती निर्माणले सहयोग पुग्ने धुर्मुस सुन्तलीको विश्वास छ ।

प्रतिक्रिया