सुर्तीजन्य वस्तु बेच्न अनुमति लिनुपर्ने

सुर्तीजन्य वस्तु बेच्न अनुमति लिनुपर्ने

दैलेख, चैत १३ । दैलेखस्थित सँयुक्त अनुगमन समितिले विना अनुमति पत्र सुर्तिजन्य वस्तु नबेच्न व्यापारीलाई सचेत गराएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गंगाराम गिरीको नेतृत्वको अनुगमन टोलीले दैलेख बजारस्थित पशलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अनुगमन टोली सदस्य मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शोभित थापाले नयाँ कानुनअनुसार सुर्तिजन्य वस्तुको विक्रिवितरण गर्नका लागि अनुमति पत्र लिनुपर्ने भन्दै व्यापारीलाई सचेत गराएका थिए ।
नयाँ कानुनअनुसार सुर्तीजन्य वस्तु तथा गुटखा बेच्न अनुमति पत्र लिनुपर्ने र छुट्टै पसल गर्नुपर्ने व्यवस्था छ । हालको जस्तो जुन पसलमा पनि यी वस्तु बेच्न नपाइने कानुनले व्यवस्था गरेको छ । यो कानुन कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले अनुगमन गर्ने व्यवस्था छ । अनुगमनका क्रममा फेला परेका सुर्तीजन्य वस्तु भने जफत गरिएन । पहिलो पटकलाई सचेत गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनले कडा कानुन आएको करिब २ हप्तामात्र भएको भन्दै पहिलो चरणमा कानुन बारे व्यापारीलाई सचेत गराइएको बताए । उनले दोस्रो चरणको अनुगमनका क्रममा सुर्तीजन्य वस्तु फेला परे जफत गरिने बताए । उनले जथाभावी रुपमा यी वस्तु बेच्न नपाइने उनको भनाई छ । कानुनको पालना सबैले गर्नुपर्ने उनको भनाई थियो ।
आइतबार पुरानोबजारका करिब २६ वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मुल्य सूची, विल, उद्यम दर्ता, म्याद नाघेका तथा लेवललिंगबारे विशेष ध्यान दिइएको थियो । अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद नाघेको सुजि, तेल, बनस्पती घ्यु, बेलको जुस र भेजिटेबल सस फेला परेको थियो । उक्त म्याद नाघेका खाद्य वस्तु जफत गरि जिल्ला प्रशासन कार्यालयमा नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया