कांग्रेसको परिकल्पना ‘नमूना स्थानीय सरकार’, १० गते घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसको परिकल्पना ‘नमूना स्थानीय सरकार’, १० गते घोषणापत्र सार्वजनिक गर्ने

७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा ‘नमूना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ ।

पार्टीले सहरी क्षेत्रका साथै गाउँपालिकाका जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, स्थानीयस्तरमा रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ शय्याको सुविधासम्पन्न अस्पताल बनाउने विषय घोषणापत्रमा समावेश गर्ने तयारी गरेको छ ।संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुसार स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्नुपर्ने विषयमा कांग्रेसले जोड दिएको छ ।

निर्वाचनमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्ने, महिला स्वयंसेविकाको सुविधा वृद्धि, सबै वडा, टोल जोड्ने पक्की सडक, उज्यालो बस्ती, घरघरमा स्वच्छ ऊर्जा, घरघरमा खानेपानी धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोष्ट, बाल, युवा तथा महिला क्लब, बारुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गर्ने विषय कांग्रेसको प्रतिबद्धता हुनेछ ।

समितिले यसअघि पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पेसागत संस्थाका प्रतिनिधिलगायत पार्टी केन्द्रीय समिति र सांसदसँग छलफल गरी सुझाव संकलन गरेको थियो ।

समितिले थप छलफलपछि यही बैशाख १० गते घोषणापत्र सार्वजनिक गरी जिल्ला जिल्लामा पुर्याउने जनाएको छ ।

नेता महेश आचार्य नेतृत्वको पार्टीको निर्वाचन घोषणापत्र तयारी समितिले पार्टीका शीर्ष नेता तथा पदाधिकारीसहित प्रारम्भिक मस्यौदामाथि छलफल गरेको छ । छलफलका क्रममा नेताले स्थानीयस्तरका विषयलाई बढी प्राथमिकतामा राख्नुपर्ने धारणा राखेको समितिले जनाएको छ ।

 

प्रतिक्रिया